• Menu

चीनतर्फ बनेको ठूलो ताल फुट्यो, रसुवामा उच्च सतर्कता अपनाउन आग्रह

नेपाल प्रफिट

२०८३ भदौ १२, शुक्रबार १२:२६

चीनतर्फ बनेको ठूलो ताल फुट्यो, रसुवामा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको थुनिएको ठूलो ताल फुटेको जानकारी प्राप्त भएको छ । यससँगै रसुवालगायत त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको हो । उनले नदी किनारका बासिन्दालाई सुरक्षित रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सूचना तथा सतर्कता सर्कुलर जारी गरिएको बताए ।

छोचेन खोला र पुरेपू त्साङ्पो त्रिशूली नदी प्रणालीअन्तर्गतका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन् । उक्त क्षेत्रमा बनेको ताल फुटेसँगै नदीमा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासन र सुरक्षा निकायले सतर्कता बढाएका छन्।

प्रहरीले पनि सूचना जारी गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र नदी आसपासका सर्वसाधारणलाई तत्काल उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले त्रिशूली तथा यसका सहायक नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान, अनावश्यक रूपमा जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई पालना गर्न अनुरोध गरेको छ ।