• Menu

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान तयारी, विश्वका २५० बढी गन्तव्यमा पुग्न सहज हुने

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार १७:५०

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान तयारी, विश्वका २५० बढी गन्तव्यमा पुग्न सहज हुने

कास्की । आगामी असोज ७ गतेदेखि सुरु हुने पोखरा-दुबई सिधा हवाई उडानलाई नियमित र दिगो बनाउन पोखराका पर्यटन व्यवसायीले सक्रियता बढाएका छन्।

पर्यटन व्यवसायीले नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शाम्सीसँग भेट गरी फ्लाई दुबईले सुरु गर्न लागेको उडानको निरन्तरता, यात्रु आकर्षण तथा दीर्घकालीन सञ्चालनका विषयमा छलफल गरेका छन्।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार पोखरा-दुबई उडानलाई प्रभावकारी र दिगो बनाउन आवश्यक पहल तथा सहकार्यका विषयमा राजदूतसँग छलफल भएको हो।

‘पोखरा-दुबई उडानलाई कसरी प्रभावकारी र दिगो बनाउन सकिन्छ भन्नेमा हाम्रो मुख्य चासो थियो,’ श्रेष्ठले भने, ‘यसका लागि सबै पक्षबाट आवश्यक पहल र सहकार्य अगाडि बढाउने विषयमा छलफल भयो।’

भेटमा नेपाल पर्यटन बोर्डका पूर्वबोर्ड सदस्य वासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीलगायत पर्यटन तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी थिए।

यसअघि फ्लाई दुबईका नेपाल प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच पनि पोखरामै उडान सञ्चालनबारे छलफल भएको थियो। त्यस क्रममा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थानीयवासी तथा सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिइएको थियो।

फ्लाई दुबईको सिधा उडान सञ्चालनमा आएपछि गण्डकी प्रदेश तथा आसपासका यात्रुलाई दुबई हुँदै लन्डन, न्युयोर्क, टोकियोलगायत विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्न सहज हुने अपेक्षा गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दुबई-पोखरा-दुबई दैनिक उडान सञ्चालनका लागि अनुमति दिएको थियो। कम्पनीले सुरुमा एक महिनाका लागि दैनिक एक उडान सञ्चालन गर्ने घोषणा गरे पनि सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरिसकेको जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयपछि फ्लाई दुबईले उडान अनुमति पाएको हो ।

विश्वकै प्रमुख हवाई पारवहन केन्द्रमध्ये एक दुबईसँग पोखराको सिधा हवाई सम्पर्क स्थापित भएपछि पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिने अपेक्षा गरिएको छ। सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।

यसअघि सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा-ल्हासा नियमित व्यावसायिक उडान सुरु गरेको थियो। तर यात्रु सङ्ख्या न्यून भएपछि उक्त सेवा हाल स्थगित छ। पोखरा-दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुनेछ। यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान हुँदै आएका छन्।

पोखरा-दुबई उडान नियमित हुन सके पोखरासहित गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकलाई सिधै ल्याउन सहज हुने पर्यटन व्यवसायीको विश्वास छ । त्यस्तै, वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि अरब मुलुकलगायत विभिन्न देशमा जाने यात्रुलाई समेत उडानबाट लाभ पुग्ने अपेक्षा गरिएको छ ।

दुबईसँगको सिधा हवाई सम्पर्कले पोखराको अन्तर्राष्ट्रिय पहुँच विस्तारसँगै पर्यटन प्रवर्धन र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। काठमाडौं केन्द्रित हवाई चाप विकेन्द्रीकरण गर्न पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको आवाज उठ्दै आएको छ ।