• Menu

सञ्चार र विज्ञापन क्षेत्रको समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ : सञ्चारमन्त्री

नेपाल प्रफिट

२०८३ भदौ ८, सोमबार १७:५६

सञ्चार र विज्ञापन क्षेत्रको समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले विज्ञापन क्षेत्रको समग्र चक्रमा सुधार गर्ने गरी काम गरिरहेको बताएका छन् ।

राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीसँग सोमबार भएको भेटमा मन्त्री तिमिल्सिनाले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता भएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए । आगामी दिनमा सरकारी विज्ञापन वितरणमा त्यस्ता समस्या दोहोरिन नदिन विज्ञापन क्षेत्रसँग सम्बन्धित सबै पक्षले आफ्नो जिम्मेवारी पारदर्शी र व्यावसायिक रूपमा पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले केही समयअघि राष्ट्रिय विज्ञापन नीति जारी भइसकेकाले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विज्ञापन बजारलाई व्यवस्थित र प्रतिस्पर्धी बनाइने बताए । विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम, नियामक निकाय र उपभोक्तासहित विज्ञापन बजारसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका सबै पक्षको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

डिजिटल प्रविधिको तीव्र विस्तारसँगै पछिल्ला वर्षमा विज्ञापन गर्ने शैली र उपभोक्ताको व्यवहारमा समेत ठूलो परिवर्तन आएको मन्त्री तिमिल्सिनाले बताए । परम्परागत विज्ञापनका माध्यम मात्र पर्याप्त नहुने भन्दै उनले प्रविधिको विकास र उपभोक्ताको बदलिँदो रुचिअनुसार विज्ञापन बजारलाई पनि नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए ।

नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रलाई सिर्जनात्मक, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए । विज्ञापन क्षेत्र व्यवस्थित हुँदा सञ्चारमाध्यमको आर्थिक आधार बलियो हुनुका साथै रोजगारी सिर्जना र व्यापार व्यवसाय प्रवद्र्धनमा समेत योगदान पुग्ने उनको भनाइ थियो ।

भेटका क्रममा राष्ट्रिय विज्ञापन संघ नेपालले कोभिड-१९ महामारीपछि समग्र अर्थतन्त्रसँगै विज्ञापन व्यवसायसमेत प्रभावित भएको जानकारी गराएको थियो । संघका पदाधिकारीले विज्ञापन बजार र विज्ञापन एजेन्सीले भोग्दै आएका समस्या तथा कानुनी र नीतिगत विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

संघले विज्ञापन एजेन्सीले सरकार, सञ्चारमाध्यम, विज्ञापनदाता र उपभोक्ताबीच महत्वपूर्ण सेतुका रूपमा काम गर्दै आएको जनाएको छ । विज्ञापन व्यवसायले हजारौँ रोजगारी सिर्जना गर्नुका साथै व्यापार तथा व्यवसायको प्रवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको संघको भनाइ छ ।