• Menu

नेपाली सोच र लगानीमा निर्मित ५० मिनेट लामो वृत्तचित्र ‘रोड टु एभरेष्ट’ सार्वजनिक

नेपाल प्रफिट

२०८३ भदौ ८, सोमबार १७:४२

नेपाली सोच र लगानीमा निर्मित ५० मिनेट लामो वृत्तचित्र ‘रोड टु एभरेष्ट’ सार्वजनिक

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको जीवन्त अनुभूति दिलाउँदै नेपाललाई अन्तरराष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले तयार गरिएको वृत्तचित्र ‘रोड टु एभरेष्ट’ भावी पुस्तालाई उपहारस्वरूप सयौँ वर्षसम्म कालजयी दस्तावेजका रूपमा रहने देखिन्छ ।

राजधानीमा प्रदर्शित वृत्तचित्रको ‘प्रिमियम शो’मा सहभागी वक्ता एवं दर्शकले वृत्तचित्रलाई केवल हिमालको कथाको रूपमा मात्र नभई नेपाली पहिचानको कथाको रूपमा लिएका छन् ।

नेपाली सोच, लगानी र प्राविधिकले निर्माण गरेको ५० मिनेट लामो सो वृत्तचित्रमा नेपाली पर्वतारोहीको अदम्य साहस, जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पुर्‍याएको असर र नेपालमा पर्वतारोहणको अवस्थालाई सजीव ढंगबाट प्रस्तुत गरिएको छ ।

सगरमाथा हिमाल १८ पटक आरोहण गरेका फुर्वा तेन्जिङ शेर्पा र १० पटक सगरमाथासहित आठ हजार मिटरभन्दा माथिका १४ वटै हिमालको आरोहण गरेका निमाग्याल्जेन शेर्पाको सहयोगमा सगरमाथा आरोहण गरेका राज गुरुङले आफ्नो आरोहणका क्रममा खिचिएका भिडियो र तस्बिरलाई समेटेर पत्रकार निर्मल श्रेष्ठको निर्देशनमा वृत्तचित्र तयार गरिएको हो ।

विभिन्न पर्वतारोही, कलाकार, सञ्चारकर्मी तथा गैरआवासीय नेपाली संघका पदाधिकारीको उपस्थितिमा सो वृत्तचित्रको शुभारम्भ गर्दै ‘वी विल राइज फाउण्डेशन’का अध्यक्ष तुलसीकुमार गुरुङले नेपालको पहिचानका रूपमा रहेको सगरमाथालाई केन्द्रमा राखेर तयार गरिएको वृत्तचित्रलाई व्यापक प्रचारप्रसारसहति विदेशमा पुर्‍याउन सबैसँग अनुरोध गरे । ‘गोरखा भूकम्प’का बेला ‘हामी उठ्न सक्छौँ’ भन्ने अठोटका साथ स्थापना भएको सो फाउण्डेशनले सो वृत्तचित्र निर्माण गरेको हो ।

वृत्तचित्रमा समुन्द्र सतहदेखि सर्वोच्च शिखर आरोहण गर्दासम्मको अनुभवको प्रस्तुतीकरणसँगै जलवायु परिवर्तनले कसरी प्रभाव पारेको छ भन्ने विषयलाई समेटिएको छ । सगरमाथाको आधारशिविरदेखि वेसक्याम्प चारसम्म आरोहीको अवस्था, चुनौती, पर्वतारोहीको चाप, पर्वतारोहीमा देखिने स्वास्थ्य समस्या र मृत्युसम्मका घटनालाई वृत्तचित्रमा नियाल्न सकिन्छ ।

सगरमाथालाई आधारित बनाएर तयार गरिएको वृत्तचित्रमा आरोहणको क्रममा क्याम्पमा व्यतित गरिने समय, मनोरञ्जनका क्रियाकलाप, आआफ्ना धार्मिक विश्वासअनुसार गरिने पूजाआजा, खानपान, मलमूत्र व्यवस्थापनलगायतका व्यवहारलाई पनि समावेश गरिएको भए अझ राम्रो हुने सुझाव शुभारम्भ कार्यक्रममा व्यक्त भएको थियो ।