• Menu

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

नेपाल प्रफिट

२०८३ भदौ ८, सोमबार १४:४८

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौं । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै दोषीलाई कठोर सजायको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा उनीहरूले हिंसाका घटना बढिरहेकाले त्यस्तो व्यवस्था अपरिहार्य भएको बताए । साथै, उनीहरूले सडक सुरक्षा, महिला तथा बालिकामाथि हुने हिंसा रोक्ने, विदेशमा मृत्यु भएकाको शव स्वदेश ल्याउने तथा विपद्पीडितलाई तत्काल राहत उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद ऐनबहादुर महरले सवारी चालक तथा साधनको लापरबाहीका कारण नागरिकले अकालमै ज्यान गुमाइरहेको बताउँदै सडक सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद विपिनकुमार आचार्यले विदेशमा रहेका नेपालीलाई अतिजरुरी काममा स्वदेश आउने व्यवस्था मिलाउन सरकार गम्भीर हुनुपर्ने बताए ।

सांसद प्रमिलाकुमारी गच्छदारले महिला सुरक्षासम्बन्धी ऐनकानुन अविलम्ब सदनमा प्रस्तुत गर्न तथा बालिकाको सुरक्षाको प्रत्याभूतिको माग गरिन् ।

सांसद टीका सङ्ग्रौलाले विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन समस्या भएकाले सरकार संवेदनशील भएर यो समस्या सधैँका निम्ति समाधान गर्नेतर्फ लाग्न सुझाइन् ।

सांसद मनिष झाले जनकपुरमा पोखरी अतिक्रमण हटाउने प्रयास जारी रहेको बताउँदै सबै किसिमका अतिक्रमणलाई हटाउनुपर्नेमा जोड दिए ।

सांसदहरू श्रद्धा कुँवर, बालावती शर्मा, सन्तोष राजवंशी, खड्कबहादुर बुढाले, शाहजान खातुन, भरतबहादुर खड्का, प्रेमबहादुर बयेक, साजिदा खातुन सिद्धिकी, प्रकाश पाठक, नीनु कुमारी कर्ण, प्रमिला कुलुजु, रविन महतो, हरिमोहन भण्डारी र सोम शर्माले पनि बालिका हत्याको विषयमा निष्पक्ष छानबिन र कडा कारबाही तथा अन्य समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका थिए ।