काठमाडौं । बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका किशोरसँग प्रहरीले लिएको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक प्रहरी पक्राउ परेका छन् ।
बयानका क्रममा बयान कक्षभित्र खिचिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि प्रहरीको कार्यशैलीमाथि समेत प्रश्न उठेको थियो । भिडियोमा किशोरले घटनासम्बन्धी विवरण बताइरहेको देखिन्छ ।
घटनाको अनुसन्धानका क्रममा बयानको भिडियो प्रहरीतर्फबाटै बाहिरिएको हुनसक्ने आशंका भएपछि भिडियो खिच्ने प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । उनीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले बताए ।
प्रहरीका अनुसार भिडियो खिच्ने क्रममा पाँच जना प्रहरीको उपस्थिति देखिएको छ । भिडियो कसरी बाहिरियो र त्यसमा अन्य प्रहरीको भूमिका के थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।