काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई पुनः नियुक्त गरेको छ। उदयपुरका स्थायी बासिन्दा कार्कीलाई २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशक थिए । उनी २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए ।
कार्कीसँग नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेको अनुभव छ।
उनले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट बैंकिङ तथा वित्तमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा उनले अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरेका छन्।