• Menu

अमेरिकी राष्ट्रिय ऋण हालसम्मकै उच्च, पहिलोपटक पुग्यो ४०० खर्ब डलर

नेपाल प्रफिट

२०८३ भदौ ४, बिहीबार १३:४४

अमेरिकी राष्ट्रिय ऋण हालसम्मकै उच्च, पहिलोपटक पुग्यो ४०० खर्ब डलर

एजेन्सी । अमेरिकी संघीय सरकारको कुल ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ। अमेरिकी अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार कारोबार समाप्त हुँदा सरकारको कुल ऋण ४०० खर्ब ५० अर्ब डलर पुगेको हो ।

सरकारी खर्चमा निरन्तर वृद्धि, ऋणको ब्याज भुक्तानी तथा मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी ऋण नयाँ कीर्तिमानमा पुगेको बताइएको छ। ऋणको यो स्तर कङ्ग्रेसनल बजेट कार्यालयले आर्थिक वर्ष २०२६ को अन्त्यसम्मका लागि गरेको ३९४ खर्ब डलरको अनुमानभन्दा समेत बढी हो।

ऋण तीव्र रूपमा बढेपछि मुद्रास्फीति, सरकारी खर्च र ब्याज लागतप्रति लगानीकर्ताको चिन्ता बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को निर्वाचन अभियानका क्रममा सरकारी खर्च घटाउने प्रतिबद्धता जनाए पनि सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, ऋणको ब्याज र रक्षा खर्चमा उच्च दायित्व कायम रहेकाले सरकारी ऋण घट्न सकेको छैन।

मध्यपूर्वमा जारी युद्धले समेत अमेरिकी सरकारमाथि थप आर्थिक दबाब बढाएको छ। उक्त युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको र करिब ३ खर्ब ७५ अर्ब डलर सैन्य खर्च भइसकेको जनाइएको छ।

यसैबीच, अमेरिकी प्रतिनिधिसभाले गत जुलाईमा रक्षा मन्त्रालयका लागि ११ खर्ब ५० अर्ब डलरसम्मको रक्षा बजेट व्यवस्था गर्न सकिने वार्षिक रक्षा नीति विधेयक पारित गरेको थियो। सरकारी खर्च कटौती गर्ने उद्देश्यले ट्रम्प प्रशासनले गठन गरेको सरकारी दक्षता विभागले २ खर्ब १५ अर्ब डलर खर्च कटौती गरेको दाबी गरे पनि स्वतन्त्र पर्यवेक्षकहरूले उक्त तथ्यांकमाथि प्रश्न उठाएका छन्।

सरकारी ऋण ४०० खर्ब डलर नाघेपछि अमेरिकी दुवै प्रमुख राजनीतिक दलका सांसदले बढ्दो सरकारी खर्चप्रति चिन्ता व्यक्त गरेका छन्। रिपब्लिकन सिनेटर रिक स्कटले खर्च नियन्त्रण गर्दै बजेट सन्तुलित बनाउन कङ्ग्रेसलाई आग्रह गरेका छन् । डेमोक्रेटिक सांसदहरूले पनि ट्रम्प प्रशासनको आर्थिक नीतिको आलोचना गरेका छन् ।

बढ्दो ऋण र युद्ध खर्चको प्रभाव अमेरिकी सरकारी ऋणपत्रको प्रतिफलमा समेत देखिएको छ। १० वर्षभन्दा लामो अवधिका अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल मङ्गलबार सन् २००७ यताकै उच्च तहमा पुगेको बताइएको छ। यसले अमेरिकी सरकारले आगामी दिनमा विगतको तुलनामा महँगो ब्याजदरमा ऋण पुनर्वित्त गर्नुपर्ने जोखिम बढाएको छ।

ब्रुकिङ्स इन्स्टिच्युसनकी बजेट तथा कर विज्ञ जेसिका रिडलका अनुसार अमेरिकी सरकारले आर्थिक समृद्धिको समयमा समेत वार्षिक करिब २० खर्ब डलर बराबरको बजेट घाटा व्यहोर्दै आएको छ। कुल गार्हस्थ्य उत्पादनको तीनदेखि चार प्रतिशत आसपास रहेको बजेट घाटा अहिले छदेखि सात प्रतिशतसम्म पुगेकाले वित्तीय बजारमा चिन्ता बढेको उनको भनाइ छ ।

विश्लेषकहरूका अनुसार ४०० खर्ब डलरको ऋण आफैँमा तत्काल आर्थिक संकटको निश्चित संकेत नभए पनि यो वित्तीय बजारका लागि महत्वपूर्ण मनोवैज्ञानिक सीमा हो। अत्यधिक सरकारी ऋणले भविष्यमा सरकारसँगै उपभोक्ता र व्यवसायका लागि ऋणको लागत बढाउन सक्ने तथा आर्थिक वृद्धिमा दबाब सिर्जना गर्न सक्ने उनीहरूको आकलन छ।

अमेरिकी अर्थ मन्त्रालयले संघीय बजेट घाटालाई कुल गार्हस्थ्य उत्पादनको करिब तीन प्रतिशतमा सीमित गर्ने लक्ष्य अघि सारेको छ। तर बढ्दो रक्षा खर्च, सामाजिक दायित्व र ऋणको ब्याज भुक्तानीका कारण उक्त लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण देखिएको छ।