
बाजुरा । गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । गौमुल-२ मालिवनमा निर्माण गरिएको नवनिर्मित अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले शुभारम्भ गरे ।
२०७७ चैतमा १३ करोड ८४ लाख ९१ हजारमा ठेक्का सम्झौता गरी भवन निर्माण सुरुआत गरिएको थियो । निर्माण कम्पनीले २०८१ माघमा गाउँपालिकालाई भवन हस्तान्तरण गरेको थियो ।
अस्पताल निर्माण सम्पन्न भए पनि विद्युत सेवा, औषधि तथा उपकरण र जनशक्ति व्यवस्थापनमा केही ढिलाइ हुँदा सञ्चालनमा आउन सकेको थिएन ।
‘मेडिकल अधिकृतका लागि धेरै खोज्यौँ, तर तत्काल पाउन सकिएन । केही सम्पर्कमा आएका चिकित्सकले पनि आउन मानेनन्,’ गाउँपालिका अध्यक्ष रोकायाले भने, ‘आवश्यक अन्य जनशक्ति, औषधि र उपकरणको व्यवस्था गरिएको छ । अब तत्कालै चिकित्सकको व्यवस्था गरेर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने तयारीमा छौँ ।’
अस्पतालमा दुई जना एमबिबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था छ ।
गाउँपालिकामै अस्पताल सञ्चालनमा आएपछि नागरिकले स्थानीय तहमै स्वास्थ्य सेवा पाउने वातावरण बनेको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताइन् । ‘यसअघि सामान्य उपचारका लागि बाहिर जानुपर्ने अवस्था थियो । भौगोलिक रूपमा विकट गाउँका नागरिकले उपचारका लागि ठूलो रकम खर्च गर्नुपर्थ्यो,’ उपाध्यक्ष थापाले भनिन्, ‘विशेषज्ञ चिकित्सकसहित आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरेर पालिकामै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य छ ।’
यसअघि सामान्य स्वास्थ्य चौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर रहेका त्यहाँका स्थानीयले थप स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने आशा व्यक्त गरेका छन् ।
आधारभूत अस्पताल सञ्चालनमा आएसँगै गौमुलवासीले सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढी धाउनुपर्ने बाध्यता घट्दै जाने अपेक्षा गरिएको छ ।
स्थानीय तहमै चिकित्सकीय स्वास्थ्य सेवा विस्तार हुँदा समय, खर्च र दुःख कम हुने स्थानीय सुशील रोकायाले बताए पालिकामै आधारभूत अस्पताल सञ्चालनमा आएसँगै विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य सेवा उपलब्ध भए राहत मिल्ने बताए ।
नौ स्थानीय तहमध्ये १० शय्या अस्पताल निर्माण गर्नेमा गौमुल दोस्रो बनेको छ । यसअघि जगन्नाथ गाउँपालिकाले २०८० चैतमा १० शय्या अस्पताल सञ्चालनमा ल्याएको थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal