
एजेन्सी । रूसमा हालै भएको युक्रेनी ड्रोन आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने प्रतिबद्धता जनाएको छ।
बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताएका छन् । उनले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सैन्य सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने स्पष्ट पारे ।
युक्रेनलाई निरन्तर सैन्य सहयोग दिँदा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले युक्रेनको आत्मरक्षाका लागि सहयोग गर्नु बेलायतको प्रतिबद्धता भएको बताए ।
यसैबीच, लन्डनस्थित रूसी दूतावासले बेलायतले जानाजानी युक्रेन संकटलाई थप चर्काउने नीति अपनाएको आरोप लगाएको छ। बेलायतले द्वन्द्वमा आफ्नो संलग्नता जारी राखे त्यसको ‘उच्च मूल्य’ चुकाउनुपर्ने चेतावनी दिँदै रूसी दूतावासले त्यसको परिणाम बेलायतले भोग्नुपर्ने जनाएको छ ।
युक्रेनले पछिल्लो समय मस्कोसहित रूसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाउँदै आएको छ । युक्रेनी सेनाले रूसी तेल प्रशोधन केन्द्र तथा रूसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजसँग सम्बन्धित गोदामलाई समेत निशाना बनाउँदै आएको छ ।
बेलायतको पछिल्लो प्रतिबद्धतासँगै रूस-युक्रेन द्वन्द्वमा बेलायतको सैन्य तथा राजनीतिक समर्थन निरन्तर रहने संकेत देखिएको छ। यसले दुई देशबीचको तनाव थप बढ्न सक्ने सम्भावना समेत देखिएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal