
बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटनको प्रवर्धन र स्थानीय पूर्वाधार विकास गर्न सके गाउँमै रोजगारीका अवसर सिर्जना हुने बताएका छन् ।
बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई सम्बोधन गर्दै उनले पर्यटन विकासमार्फत स्थानीयस्तरमै आर्थिक गतिविधि बढाउन सकिने बताएका हुन् ।
बाइसे-चौबिसे राज्यकालदेखि धार्मिक तथा ऐतिहासिक महत्व बोकेको भैरवस्थान क्षेत्रमा पर्यटन, कृषि उत्पादन र रोजगारीको ठूलो सम्भावना रहेको उनले उल्लेख गरे । यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि मुक्तिनाथ आउने भारतीय तथा विदेशी पर्यटकको संख्या बढेको उल्लेख गर्दै ढकालले मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केहीलाई मात्र बागलुङका भैरवस्थानलगायत पर्यटकीय क्षेत्रमा ल्याउन सके स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सकिने बताए ।
पर्यटकलाई कम्तीमा एक रात क्षेत्रमा बस्ने वातावरण बनाउन गुणस्तरीय होटल, रिसोर्ट तथा होमस्टे विस्तार गर्नुपर्नेमा उनले जोड दिए । केबलकारलगायत अन्य पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय तहबाट सहयोग भए छोटो समयमै पर्यटन विकासको सकारात्मक परिणाम देखिने उनको भनाइ छ ।
ढकालले स्वदेशी पुँजी परिचालन गरी ठूला आयोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ सञ्चालनमा ल्याइएको जानकारी दिए । महासंघको ढोरपाटन बैठकको निर्णयअनुसार स्थापना गरिएको उक्त कम्पनीले पर्यटन, जलविद्युत, उत्पादन तथा प्रविधिका क्षेत्रमा लगानी गर्ने तयारी गरेको उनले बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal