काठमाडौं । गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ का शीर्ष ६ फाइनलिस्ट घोषणा गरिएको छ । ग्लोकल प्रालिले यस वर्ष देशभरबाट प्राप्त ७९१ आवेदनमध्ये उत्कृष्ट ६ किशोरकिशोरीलाई फाइनलिस्टका रूपमा छनोट गरेको हो ।
छनोट भएका फाइनलिस्टमा विराटनगरका १५ वर्षीय अर्जुन चौधरी, अछामका १९ वर्षीय अटल देव ढकाल, पोखराकी १८ वर्षीया जास्मिन बोहोरा, सुर्खेतका १७ वर्षीय किशोर न्यौपाने, बर्दिबासका १७ वर्षीय मन्जिल बस्नेत र नवलपुरकी १९ वर्षीया सब्नम सुनार रहेका छन् ।
अर्जुन चौधरी साइबर सुरक्षा तथा प्रविधिका क्षेत्रमा सक्रिय छन् । उनले ४०० भन्दा बढी सदस्य रहेको किशोर प्रविधि समुदाय आर्णिको ह्याक क्लब स्थापना गरेका छन् । अटल देव ढकाल जलवायु न्याय, हिमाली समुदाय तथा जलवायु नीतिमा युवा सहभागिताका लागि सक्रिय छन् ।
जास्मिन बोहोरा कृत्रिम बुद्धिमत्ता, वातावरणीय प्रविधि तथा अन्तरिक्ष शिक्षामा काम गरिरहेकी छन् । उनले ४०० भन्दा बढी विद्यार्थीलाई विज्ञान, प्रविधि तथा अन्तरिक्ष प्रविधिसँग जोडिसकेको आयोजकले जनाएको छ । किशोर न्यौपाने जलवायु तथा वातावरण संरक्षणमा सक्रिय छन् । उनले २० हजारभन्दा बढी विद्यार्थीलाई जलवायु सचेतनासम्बन्धी गतिविधिमा जोड्नुका साथै तीन हजारभन्दा बढी बिरुवा रोप्ने अभियानमा योगदान दिएका छन् ।
त्यस्तै, मन्जिल बस्नेतले युवालाई स्थानीय सरकारसँग जोड्दै सामुदायिक समस्या समाधानमा सहभागी गराउने पहल सञ्चालन गरिरहेका छन् । सब्नम सुनार बालिका नेतृत्व, लैंगिक समानता, मासिकधर्म स्वास्थ्य तथा सामाजिक न्यायका क्षेत्रमा सक्रिय छन् ।
यस वर्ष ग्लोकल टिन हिरो नेपालमा बागमती प्रदेशबाट सबैभन्दा बढी २६.२७ प्रतिशत आवेदन परेको थियो । कोशी प्रदेशबाट २०.३४ प्रतिशत र मधेश प्रदेशबाट १९.४९ प्रतिशत आवेदन परेको आयोजकले जनाएको छ । आवेदन दिनेमध्ये ६६.९५ प्रतिशत पुरुष र ३३.०५ प्रतिशत महिला थिए ।
फाइनलिस्ट छनोट उपलब्धि, सिर्जनशीलता, सामाजिक प्रभाव, पहल तथा कामको दिगोपनालाई आधार बनाएर गरिएको हो । तीन सदस्यीय निर्णायक समितिले फाइनलिस्ट छनोट गरेको आयोजकले जनाएको छ ।
शीर्ष ६ फाइनलिस्टले आगामी २७ देखि ३१ अगस्टसम्म विभिन्न क्षमता विकाससम्बन्धी कार्यशालामा सहभागिता जनाउनेछन् । उनीहरूले विभिन्न संस्थाको भ्रमण गर्नुका साथै उद्योग तथा क्षेत्रगत विज्ञसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन् । ३१ अगस्टमा निर्णायक समितिले उनीहरूको व्यक्तिगत अन्तर्वार्ता लिनेछ ।
ग्लोकल टिन हिरो नेपाल २०२६ को विजेता चयनमा सार्वजनिक मतको समेत भूमिका रहनेछ । १८ अगस्ट साँझ ५ बजेदेखि ३० अगस्ट साँझ ५ बजेसम्म एसएमएस मतदान खुला रहनेछ । मतदानका लागि सम्बन्धित फाइनलिस्टको कोडसहित ३५००१ मा एसएमएस पठाउन सकिनेछ ।
विजेताको घोषणा आगामी १ सेप्टेम्बरमा ललितपुरस्थित द प्लाजामा आयोजना हुने भव्य समारोहमा गरिनेछ । यस वर्ष ग्लोकल टिन हिरोको दायरा दक्षिण एसियामा विस्तार गर्दै नेपालसँगै भारत, भुटान, श्रीलंका र बंगलादेशलाई समेत समेटिएको छ ।
कार्यक्रममा पाँचै देशका राष्ट्रिय विजेतासहित नेपालका शीर्ष ६ फाइनलिस्टलाई सम्मान गरिने आयोजकले जनाएको छ । ग्लोकल प्रालिले आयोजना गर्ने कार्यक्रम गोल्छा ग्रुपको शीर्ष साझेदारीमा सञ्चालन भइरहेको छ ।