• Menu

व्यापारबाहेक सबै उपसमूह राताम्मे, २६२२ अंकमा ओर्लियो सेयर बजार

नेपाल प्रफिट

२०८३ भदौ २, मंगलबार १६:०६

व्यापारबाहेक सबै उपसमूह राताम्मे, २६२२ अंकमा ओर्लियो सेयर बजार
तस्बिर : एआई

काठमाडौं । मंगलबार सेयर बजार १९.३४ अंकले घटेको छ। अघिल्लो दिन २.२५ अंक मात्र घटेको बजारमा आज गिरावट केही फराकिलो भएको हो।

आजको कारोबारपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६२२ अंकमा कायम भएको छ। कुल २७९ कम्पनीको कारोबार भएकामा ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको मूल्य घटेको छ। पाँच कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

आज कारोबार रकम पनि केही घटेको छ। सोमबार ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएकामा मंगलबार ५ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ।

व्यापारबाहेक सबै समूह घटे

आज व्यापार समूहबाहेक सबै समूहगत सूचक घटेका छन्। व्यापार समूहको सूचक ०.४१ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.४० प्रतिशतले घटेको छ।

बैंकिङ समूह ०.५९ प्रतिशत, विकास बैंक ०.५९ प्रतिशत, वित्त ०.४१ प्रतिशत, होटल तथा पर्यटन ०.८४ प्रतिशत, जलविद्युत ०.९२ प्रतिशत, लगानी ०.८३ प्रतिशत, जीवन बिमा ०.७६ प्रतिशत, लघुवित्त ०.३९ प्रतिशत, निर्जीवन बिमा ०.५७ प्रतिशत र अन्य समूह ०.९७ प्रतिशतले घटेका छन्।

जलविद्युतमा उच्च कारोबार

समूहतर्फ जलविद्युत कम्पनीको सेयरमा सबैभन्दा धेरै कारोबार भएको छ। यस समूहमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, वाणिज्य बैंक समूहमा ४४ करोड रुपैयाँ तथा उत्पादन तथा प्रशोधन समूहमा ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ४.७८ प्रतिशत र माथिल्लो मैलुङखोला जलविद्युतको सेयर मूल्य ३.६४ प्रतिशतले बढेको छ।

यता सगरमाथा जलविद्युतको सेयर मूल्य १०.६३ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९.४० प्रतिशत र सप्तकोशी विकास बैंकको ६.६५ प्रतिशतले घटेको छ।

आज कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, युनाइटेड मोदी हाइड्रोपावर र रिडी पावर अगाडि रहेका छन्।