• Menu

सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

नेपाल प्रफिट

२०८३ भदौ १, सोमबार १५:२७

सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २.२५ अंकले घटेको छ। शुक्रबार पनि नेप्से ७.३७ अंकले घटेको थियो। आजको कारोबारपछि नेप्से परिसूचक २ हजार ६४१ अंकमा कायम भएको छ।

आज कारोबार भएका कम्पनीमध्ये ७२ वटाको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

कारोबार रकम भने उल्लेख्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबार रकम साउन ११ गतेयताकै उच्च हो।

समूहतर्फ वित्त समूह सबैभन्दा धेरै १.१४ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह १.३० प्रतिशतले बढेको छ। बैंकिङ समूह ०.५०, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.५६, लगानी ०.५९, जीवन बिमा ०.३६, लघुवित्त ०.६६ तथा निर्जीवन बिमा समूह ०.६१ प्रतिशतले घटेका छन्।

त्यस्तै, जलविद्युत समूह ०.४५, अन्य समूह ०.४७ र व्यापार समूह ०.१४ प्रतिशतले बढेका छन्।

समूहगत कारोबारमा जलविद्युत समूह सबैभन्दा अगाडि रहेको छ। उक्त समूहमा २ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। वाणिज्य बैंक समूहमा ६५ करोड तथा उत्पादन तथा प्रशोधन समूहमा १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ११.१७, सगरमाथा जलविद्युत कम्पनीको ११.०६ तथा विकास हाइड्रोपावरको सेयर मूल्य ८.२२ प्रतिशतले बढेको छ।

फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य ६.६३ प्रतिशत, महिला लघुवित्तको ६.५७ प्रतिशत, खानीखोला हाइड्रोपावरको ६.३३ प्रतिशत तथा सेन्ट्रल फाइनान्सको ४.५४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, रिडी पावर, खानीखोला हाइड्रोपावर र विकास हाइड्रोपावर क्रमशः अगाडि रहेका छन्।