• Menu

मरुवा रोगका कारण गोरखामा चैते धानको उत्पादन ३५ प्रतिशतले घट्यो

नेपाल प्रफिट

२०८३ भदौ १, सोमबार १७:४४

मरुवा रोगका कारण गोरखामा चैते धानको उत्पादन ३५ प्रतिशतले घट्यो

गोरखा । जिल्लाको प्रमुख खाद्यबाली चैते धानको उत्पादन यस वर्ष ३५ प्रतिशतले घटेको छ । मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताए ।

गत वर्ष बाली भित्र्याउने बेला पानी परेको उल्लेख गर्दै उनले किसानले यसवर्ष सोही धान बीउका रूपमा प्रयोग गरेकाले धानमा मरुवा रोगको संक्रमण बढेको जानकारी दिए । गुणस्तरीय धानको बीउ प्रयोग गर्दा मरुवा रोगको संक्रमण कम हुने भन्दै उनले पानीमा भिजेको बीउ प्रयोग गरिएकाले समस्या देखिएको बताए ।

कृषि प्रसार अधिकृत पौडेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर तीन हजार मेट्रिकटन चैते धान उत्पादन भएको थियो । यो वर्ष भने करिब एक हजार ५०० मेट्रिकटन उत्पादन भएको छ । ‘जिल्लाभर ७२५ हेक्टरमा चैते धानखेती भएकामा पाँच हजार रोपनीमा मरुवा रोग लागेर पूर्ण रूपमा क्षति भयो, त्यसैले यो वर्ष उत्पादन घटेको हो,’ उनले भने । मरुवा रोगले चैते धान उत्पादन भएको क्षेत्रमा समेत १५ प्रतिशत क्षति गरेको कृषि प्रसार अधिकृत पौडेलको भनाइ छ ।

चैते धानमा मरुवा रोगको संक्रमण देखिएपछि जिल्लाभर ९८ लाख बराबरको क्षति भएको जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । कार्यालयले गत आव २०८२/८३ मा ६७ लाख खर्च गरी चैते धान प्रवर्धन कार्यक्रमसमेत सञ्चालन गरेको उनले जानकारी दिए ।

‘जिल्लाभर ६७ हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन भएको थियो,’ प्रमुख तिवारीले भने, ‘कार्यक्रम सञ्चालन गरेको क्षेत्रफलमध्ये ३० हेक्टरको धानमा मरुवा रोगले ५० प्रतिशतभन्दा बढी क्षति गरेको छ । बाँकीको २७ हेक्टरबाट ९४ मेट्रिकटन उत्पादन भएको छ ।’ उनका अनुसार मरुवा रोगका कारण चैते धान प्रवर्धन कार्यक्रमअन्तर्गत करिब १६० मेट्रिकटन धान उत्पादन भएको छ । यसका लागि कार्यालयले ८३० मिटर पक्की कुलो निर्माण गरेर सिँचाइ उपलब्ध गराएको थियो ।

साथै, किसानहरूलाई उन्नत बीउ, हाते ट्याक्टर, ‘स्प्रेटङ्की’, सिँचाइ मोटर, बोरा, त्रिपाल, कुटानीपिसानी उपकरणलगायत सामग्री उपलब्ध गराइएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ । जिल्लाका गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सहिदलखन गाउँपालिका र सिरानचोक गाउँपालिका आसपासका क्षेत्रमा चैते धानखेती हुने गरेको छ ।