काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पो सुरु भएको दुई दिनमै ५५ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् भने विभिन्न ब्रान्डका सवारीसाधनको बुकिङसमेत उत्साहजनक रहेको आयोजकले जनाएको छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको दोस्रो दिन मात्रै २६ हजारभन्दा बढी अवलोकनकर्ता मेलास्थल पुगेका थिए । उद्घाटनको दिन मंगलबार २९ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए । आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता पुग्ने अपेक्षा गरेको छ ।
एक्स्पोमा पुगेका अवलोकनकर्ताले आफूलाई मनपरेका कार, मोटरसाइकल तथा विद्युतीय सवारीसाधनको प्रत्यक्ष अवलोकन गर्दै बुकिङ गरिरहेका छन् । सहभागी कम्पनीका अनुसार महँगा तथा सस्तो मूल्यका सवारीसाधनमा अवलोकनकर्ताको समान रुचि देखिएको छ ।
अवलोकनकर्ताले विशेषगरी विद्युतीय सवारीको ब्याट्री क्षमता, मोटर, एकपटकको चार्जमा पुग्ने दूरी, बिक्रीपछिको सेवा तथा मूल्यबारे चासो राखिरहेका छन् । कम्पनीहरूले ग्राहक आकर्षित गर्न मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन् ।
एक्स्पोको दोस्रो दिन विभिन्न ब्रान्डले थप चार नयाँ मोडल सार्वजनिक गरेका छन् । पहिलो दिन मंगलबार विभिन्न कम्पनीले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डसहित नयाँ विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।

एक्स्पोमा ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा संवाद तथा अन्तर्क्रियासमेत आयोजना गरिएको थियो । संवादमा प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा यातायात इन्जिनियर अनुकूल निधि र नाडा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवबहादुर थापा सहभागी थिए । पत्रकार टिकाराम यात्रीले संवादको सहजीकरण गरेका थिए ।
मोबिलिटी संवादमा ३०० भन्दा बढीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ । एक्स्पोको पहिलो दिन ‘लगानी तथा प्रत्यक्ष वैदेशिक लगानी : आर्थिक वृद्धिका लागि परिचालन’ विषयमा छलफल भएको थियो । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न विषयमा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने जनाइएको छ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो ६ दिनसम्म अर्थात् साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।

सवारी खरिदलाई सहज बनाउन बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले समेत विशेष योजना तथा सहुलियत कर्जा उपलब्ध गराएका छन् । एक्स्पोमा विभिन्न विद्युतीय सवारी, चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे साधनसँगै विद्युतीय व्यावसायिक सवारीसाधनसमेत प्रदर्शनमा राखिएका छन् ।
आयोजकका अनुसार एक्स्पोमा विभिन्न बैंक, बिमा, प्रविधि, शिक्षा, विद्युतीय चार्जिङ, यातायात, स्वास्थ्य, सुरक्षा तथा अन्य क्षेत्रका साझेदार संस्थाको समेत सहभागिता रहेको छ । एक्स्पोले नेपालमा विद्युतीय तथा प्रविधिमैत्री यातायातको विस्तारसँगै नयाँ सवारीसाधन र प्रविधिबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।