• Menu

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, १५ सय भवनमा क्षति

नेपाल प्रफिट

२०८३ साउन २६, मंगलबार १३:१९

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, १५ सय भवनमा क्षति

काठमाडौं । कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण करिब एक हजार पाँच सय भवनमा क्षति पुगेको छ भने भग्नावशेषमा अझै मानिसहरू पुरिएको आशङ्कामा खोज तथा उद्धार कार्य जारी छ ।

स्थानीय समयअनुसार बिहान ७ः३० बजेपछि कोलम्बियाको कफी क्षेत्र र प्रशान्त तटीय क्षेत्रका विभिन्न सहरमा शक्तिशाली भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी बोगोटासहित देशका विभिन्न भाग तथा छिमेकी इक्वेडर र पानामासम्म महसुस गरिएको थियो ।

भूकम्पपछि प्रभावित क्षेत्रमा मानिसहरू आत्तिँदै घरबाट बाहिर निस्किएका थिए । क्विब्डोका स्थानीय बासिन्दाका अनुसार कतिपय मानिस दोस्रो तलाबाट समेत हामफालेर बाहिरिएका थिए । केही भवनमा ठूला चिरा परेका छन् भने कतिपय संरचना पूर्ण रूपमा भत्किएका छन् ।

कालीलगायत प्रभावित क्षेत्रमा स्थानीय बासिन्दा, स्वयंसेवक र उद्धारकर्मीले सामान्य उपकरण, बाल्टी तथा आफ्नै हातको प्रयोग गरेर भग्नावशेष हटाउने काम गरिरहेका छन् । उद्धारका क्रममा भग्नावशेषभित्रबाट जीवनको संकेत खोज्न केही-केही समय काम रोक्दै आवाज सुनिएको थियो । एक घटनामा भग्नावशेषभित्रबाट सिटीको आवाज आएपछि उद्धारकर्मीले एक पुरुष र एक बालकलाई जीवितै बाहिर निकालेका थिए ।

भूकम्पका कारण सडकमा विद्युतका तार छरिएका छन् भने घर तथा अन्य संरचनामा व्यापक क्षति पुगेको छ । मनिजालेसमा रहेको चर्चित नव-गोथिक क्याथेड्रलको एउटा टावरसमेत भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

भूकम्पपछि पाँच सहरका अस्पताललाई उच्च सतर्कतामा राखिएको छ । कालीमा रातिको कर्फ्यु घोषणा गरिएको छ भने कम्तीमा छवटा स्थानीय विमानस्थलको सञ्चालन अस्थायी रूपमा रोकिएको छ । आगामी व्यावसायिक फुटबल खेलसमेत स्थगित गरिएको छ ।

नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले पद तथा गोपनीयताको शपथ लिएको तीन दिनपछि नै देशले ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरेको हो । उनले आपत्कालीन अवस्था घोषणा गर्दै खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराइमा रहेको बताइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूले नाज्का टेक्टोनिक प्लेटभित्र रहेको फल्टको गतिविधिका कारण भूकम्प गएको हुन सक्ने बताएका छन् ।

अधिकारीहरूले भग्नावशेषमा फसेका मानिसको खोजी जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन् ।

विपद्पछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाले कोलम्बियालाई सहयोगको प्रस्ताव गरेका छन् । अमेरिकाले एक करोड ५५ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहायता घोषणा गरेको छ । युरोपेली संघले क्षतिको मूल्यांकन तथा उद्धार कार्यमा सहयोग गर्न आफ्नो कोपर्निकस उपग्रह सेवा परिचालन गरेको जनाएको छ ।

इजरायल, मेक्सिको, इक्वेडर र फ्रान्सले पनि खोज तथा उद्धार र राहत कार्यमा सहयोग गर्ने प्रस्ताव गरेका छन् । कोलम्बियाकी चर्चित गायिका शाकिराले समेत विपद्को समयमा एकताबद्ध भएर प्रभावित नागरिकलाई सहयोग गर्न आह्वान गरेकी छन् ।