भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला व्यावसायिक कफीखेतीमा रमाइरहेका छन् । परम्परागत खेतीबाट अपेक्षित आम्दानी नभएपछि वैकल्पिक बालीका रूपमा कफी रोजेका उनले अहिले यसैमा भविष्य देख्न थालेका छन् ।
चौलागाईँले हाल करिब १० रोपनी क्षेत्रफलमा एक हजार बोट अरविका जातको कफी विस्तार गरेका छन् । गत वर्षदेखि व्यावसायिक रूपमा खेती विस्तार गरेका उनले योजनाबद्ध रूपमा उत्पादन बढाउँदै लैजाने बताए ।
अन्तरराष्ट्रिय बजारमा समेत नेपाली कफीको माग उच्च रहेको बुझाइका आधारमा उनी कफीखेतीप्रति आकर्षित भएका हुन् । ‘कफीखेतीमा सुरुमा मिहिनेत धेरै लाग्छ, तर उत्पादन राम्रो भयो भने आम्दानी पनि राम्रो हुन्छ,’ उनले भने ।
कफीखेती विस्तारमा षडानन्द नगरपालिकाको सक्रिय साथले किसानलाई थप उत्साहित बनाएको छ । नगरपालिकाले कृषि उपकरण, प्राविधिक सहयोग, बिरुवा तथा तालिम उपलब्ध गराउँदै किसानलाई व्यावसायिक खेतीतर्फ प्रेरित गरिरहेको छ ।
किसानलाई कफीखेतीमा प्रोत्साहन गर्न षडानन्द नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती विस्तार तथा व्यावसायीकरण परियोजना’ सञ्चालन गरेको छ । कफीलाई आयआर्जन र रोजगारीको प्रमुख आधार बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
गत आवमा नगरपालिकाको एक करोड ६५ लाख बजेट र किसानको लागत साझेदारीसमेत समावेश गर्दा परियोजनाको आकार दुई करोड ८९ लाख पुगेको कृषि विकास शाखाले जनाएको छ । यस कार्यक्रममार्फत कफीखेतीको विस्तार, उत्पादन वृद्धि र बजारसँग जोड्ने पहल भइरहेको छ ।
कृषि क्षेत्रको व्यावसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय तथा अग्र्यानिक कफी उत्पादन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरेन्द्रकुमार उदासले बताए । उनका अनुसार यहाँ करिब पाँच हजार हेक्टर क्षेत्रमा कफीखेती गर्न सकिने सम्भावना रहेको अध्ययनले देखाएको छ ।
‘नगरको समृद्धिसँगै आयआर्जनमा टेवा पुर्याउने लक्ष्यले कफीखेतीमा जोड दिएका हौँ,’ प्रमुख उदासले भने, ‘राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारको अध्ययन गर्दा कफीको सम्भावना निकै राम्रो देखिएको छ । त्यसैले किसानलाई प्रोत्साहन गर्दै लगानी बढाएका हौँ ।’
षडानन्द क्षेत्रमा कफीखेती विस्तारसँगै अन्य किसान पनि यसतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहको लगानी, प्राविधिक सहयोग र किसानको सक्रियताले कफीखेतीलाई दीर्घकालीन आम्दानीको स्रोत बनाउने देखिएको स्थानीयवासीको भनाइ छ ।