
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जनाएको छ। कम्पनीले उक्त अवधिमा ३९ करोड ८७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २१ करोड ६१ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस आधारमा कम्पनीको खुद नाफा ८४.४५ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीले चालु आर्थिक वर्षमा कर्जा लगानीलाई समेत उल्लेख्य रूपमा विस्तार गरेको जनाएको छ। कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले वृद्धि भई १२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। यसमा विशेषगरी सवारी साधन वित्तीयकरणको महत्वपूर्ण योगदान रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, निष्क्रिय कर्जा अनुपात (एनपीएल) ३.४० प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ। यसले कम्पनीको प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्जा असुली प्रणालीमा सुधार भएको देखाउने कम्पनीको भनाइ छ।
कम्पनीको समग्र वित्तीय अवस्था पनि थप सुदृढ भएको छ। कुल सम्पत्ति ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने कुल स्वपुँजी १ अर्ब ४९ करोड रुपैयाँबाट बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा खुद ब्याज आम्दानी २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड ४६ लाख ५० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो दुई गुणाभन्दा बढी वृद्धि हो। त्यस्तै, सञ्चालन नाफा ३३ करोड ५२ लाख ८० हजार रुपैयाँबाट बढेर ६१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
प्रमुख वित्तीय सूचकमा पनि कम्पनीले सुधार गरेको जनाएको छ। वार्षिकीकृत स्वपुँजी प्रतिफल १४.५२ प्रतिशतबाट बढेर २१.१२ प्रतिशत पुगेको छ। वार्षिकीकृत आधारभूत प्रतिशेयर आम्दानी २६.०४ रुपैयाँबाट बढेर ४६.०४ रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कोषको लागत ६.४० प्रतिशतबाट घटेर ५.७७ प्रतिशतमा झरेको छ भने ब्याजदर अन्तर १.९८ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ। कर्जा नोक्सानी व्यवस्थापनका लागि गरिएको प्रावधानको कभरेज ९२.३४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।
कम्पनीका एक प्रतिनिधिका अनुसार निजी क्षेत्रतर्फ कर्जा विस्तार सुस्त हुनु तथा नेपालको वित्तीय क्षेत्रमा सम्पत्तिको गुणस्तरसँग सम्बन्धित चुनौती कायम रहे पनि व्यवसाय विस्तार, सञ्चालन दक्षता, सुदृढ जोखिम व्यवस्थापन तथा प्रभावकारी कर्जा असुली रणनीतिका कारण कम्पनीले उल्लेखनीय वित्तीय उपलब्धि हासिल गर्न सफल भएको हो।
कम्पनीले आगामी दिनमा दिगो रूपमा कर्जा पोर्टफोलियो विस्तार गर्दै सम्पत्तिको गुणस्तर थप सुदृढ बनाउने, कर्जा असुली प्रणालीलाई अझ प्रभावकारी बनाउने तथा लगानी पोर्टफोलियोलाई विविधीकरण गर्ने रणनीतिलाई निरन्तरता दिने जनाएको छ।
साथै, दीर्घकालीन रूपमा आफ्ना सबै सरोकारवालाको हित र मूल्य अभिवृद्धिलाई केन्द्रमा राख्दै अघि बढ्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal