• Menu

एनसेलद्वारा प्रिपेड ग्राहकका लागि ‘मनसुन अफर’ सार्वजनिक, प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक

नेपाल प्रफिट

२०८३ साउन २०, बुधबार १३:३६

एनसेलद्वारा प्रिपेड ग्राहकका लागि ‘मनसुन अफर’ सार्वजनिक, प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले मनसुनलाई लक्षित गर्दै प्रिपेड ग्राहकका लागि नयाँ ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ग्राहकले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो सुविधाका लागि ग्राहकले कम्तीमा ५० रुपैयाँ वा सोभन्दा बढीको योग्य प्याक सक्रिय गर्नुपर्नेछ। प्याक सक्रिय गरेपछि ग्राहकले पुष्टि सन्देश प्राप्त गर्नेछन् र क्यासब्याक एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ। प्राप्त क्यासब्याक २४ घण्टाभित्र दाबी गर्नुपर्नेछ भने जारी भएको एक साताभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

एनसेलले क्यासब्याक नगदमा साट्न वा अन्य व्यक्तिलाई हस्तान्तरण गर्न नमिल्ने जनाएको छ। तर, प्रत्येक पटक योग्य प्याक वा नयाँ सिम खरिद गर्दा प्राप्त हुने क्यासब्याक जम्मा गरेर प्रयोग गर्न सकिने व्यवस्था छ।

अफरअनुसार ५० देखि ९९ रुपैयाँसम्मका प्याकमा ५ प्रतिशत, १०० देखि २०० रुपैयाँसम्मका प्याकमा १० प्रतिशत, २०१ देखि ४९९ रुपैयाँसम्मका प्याकमा १५ प्रतिशत तथा ५०० रुपैयाँ वा सोभन्दा माथिका प्याकमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्तले ग्राहकलाई थप मूल्य र सहज डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए। उनका अनुसार एनसेल एपमार्फत विभिन्न साझेदारका सेवा तथा विशेष लाभसमेत ग्राहकले प्राप्त गर्न सक्नेछन्।

कम्पनीले यो योजना कल र डाटाभन्दा बाहिर डिजिटल सेवाको पहुँच विस्तार गर्ने रणनीतिको हिस्सा भएको जनाएको छ। यो अफर सीमित अवधिका लागि एनसेलका प्रिपेड ग्राहकमा मात्र लागू हुनेछ।