• Menu

नेपाल बैंक र पिपुल्स डेन्टल कलेजबीच सम्झौता, ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट

नेपाल प्रफिट

२०८३ साउन २०, बुधबार १३:३४

नेपाल बैंक र पिपुल्स डेन्टल कलेजबीच सम्झौता, ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपुल्स डेन्टल कलेज एन्ड अस्पताल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

साउन १८ गते सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक र बैंकका कर्मचारीले पिपुल्स डेन्टल कलेज एन्ड अस्पताल तथा मातहत सञ्चालित अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सम्झौताअनुसार बिरामी दर्ता तथा चिकित्सक परामर्श शुल्कमा शतप्रतिशत छुट दिइनेछ भने अस्पतालका विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र पिपुल्स डेन्टल कलेज एन्ड अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक रोशन लुइटेलले हस्ताक्षर गरेका छन् ।

बैंकले यस सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीले गुणस्तरीय दन्त तथा स्वास्थ्य सेवा सहुलियत दरमा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ ।

नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। साथै, आधुनिक प्रविधिमार्फत छिटो, सरल र गुणस्तरीय सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको बैंकको भनाइ छ ।