धनुषा । धनुषा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ ।
जिल्ला अदालतको पछिल्लो तथ्यांकले सामाजिक संरचना, बसाइँसराइ, आधुनिक जीवनशैली, आर्थिक अवस्थाका कारण सम्बन्धविच्छेदको घटना बढेको देखाएको हो ।
अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ समेत अदालतमा सम्बन्धविच्छेदका ५०० मुद्दा अदालतमा थिए । त्यसमध्ये २८१ मुद्दामा फैसला भइसकेको छ भने २१९ मुद्दा विचाराधीन रहेको सूचना अधिकारी महतोले बताए ।
अघिल्लो आव २०८१/८२ मा सम्बन्धविच्छेदका ३१५ नयाँ मुद्दा दर्ता भएका थिए । त्यस वर्ष ३४७ मुद्दामा फैसला भएको थियो । एक सय ६७ मुद्दा चालु आर्थिक वर्षमा सरेका थिए । सम्बन्धविच्छेदसम्बन्धी मुद्दा लगातार बढ्दो दर्ता संख्याले धनुषामा वैवाहिक सम्बन्धमा तनावको प्रवृत्ति बढ्दै गएको देखाएको छ ।
शिक्षामा चेतनासगै महिलाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार, वैदेशिक रोजगारीका कारण लामो समयसम्म पति-पत्नी बेग्लै रहनुपर्ने परिस्थिति, सामाजिक सञ्जालको बढ्दो प्रयोग, पारिवारिक विवाद तथा घरेलु हिंसाका घटनाले वैवाहिक सम्बन्ध अन्त्यका घटना बढिरहेको कानुन व्यवसाय राजकुमार महासेठले बताए ।
उनका अनुसार गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीबाट ल्याएको परिवर्तन, एक्लै बस्न रुचाउने जीवनशैली तथा व्यक्तिगत स्वतन्त्रताको बढ्दो चेतनाले दाम्पत्य सम्बन्धलाई नयाँ चुनौती दिइरहेको छ ।
पछिल्लो समय महिला वा पुरुष दुवैले आफूलाई अन्याय भएको महसुस गरेमा कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको उनको भनाइ छ । बढिरहेको सम्बन्धविच्छेदले समाजमा एकातिर व्यक्तिगत अधिकारप्रति देखिएको जागरूकता तथा अर्कोतर्फ पारिवारिक सम्बन्धमा संवाद र सहिष्णुताको कमी हुँदै गएको संकेत पनि गरेको छ ।
कानुन व्यवसायी दीपककुमार विश्वकर्माका अनुसार सम्बन्धविच्छेदसम्बन्धी मुद्दा बढेसँगै अदालतमा पारिवारिक विवाद समाधानका लागि मध्यस्थताको आवश्यकता पनि बढ्दै गएको छ । समयमै परामर्श, मनोवैज्ञानिक सहयोग, वैवाहिक शिक्षा र पारिवारिक संवादलाई प्रोत्साहन गर्न सके बढिरहेको सम्बन्धविच्छेदका घटनालाई केही हदसम्म न्यूनीकरण गर्न सकिने छ ।