• Menu

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २२ करोड, ईपीएस कति ?

नेपाल प्रफिट

२०८३ साउन २०, बुधबार ०९:५१

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २२ करोड, ईपीएस कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ खुद नाफा, ब्याज आम्दानी र लाभांश वितरण क्षमतामा राम्रो सुधार गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२.६७ प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८१/८२ मा बैंकको नाफा ५ अर्ब ७ करोड ७६ लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी भने एक वर्ष अघिको तुलनामा २.८६ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा १६ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा समीक्षा वर्षमा १६ अर्ब २० करोड ३० लाख रुपैयाँ छ ।

बैंकले फि तथा कमिसन बढाएको र एम्पेरमेन्ट चार्जबापत कम रकम छुट्याउनुपर्दा सञ्चालन मुनाफामा भने सुधार देखिएको छ । अघिल्लो वर्ष ७ अर्ब २३ करोड ३१ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा गतवर्ष बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज)बापत छुट्याएको रकम ५ अर्ब ९७ करोड रुपैयाँबाट घटेर ४ अर्ब ७८ करोडमा झरेपछि बैंकको नाफामा सुधार देखिएको हो ।

वितरणयोग्य नाफा
खुद नाफामा राम्रो सुधार भएपछि बैंकको लाभांश वितरण क्षमता पनि बढेको छ । वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ छ जुन अघिल्लो वर्षको तुलनामा १२.९७ प्रतिशत धेरै हो । गतवर्ष बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५ करोड ४८ लाख रुपैयाँ थियो । प्रतिसेयर वितरणयोग्य नाफा पनि १० रुपैयाँ ६४ पैसाबाट बढेर १२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

निष्क्रिय कर्जामा दबाब
बैंकको नाफामा सुधार भएपनि निष्क्रिय कर्जामा भने दबाब देखिएको छ । बैंकको निष्क्रिय कर्जा ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशतमा झरेको छ ।

निष्क्रिय कर्जा बढ्दा बैंकले सम्भावित कर्जा नोक्सानीका लागि थप रकम छुट्याउनुपर्ने अवस्था आउन सक्छ । जसले गर्दा इम्पेरमेन्ट चार्जबापत बढी रकम छुट्याउनुपर्दा भविश्यमा नाफामा नकारात्मक प्रभाव पार्नसक्छ । त्यसैले, बैंकले कर्जा असुली, खराब कर्जा व्यवस्थापन र नयाँ कर्जाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार
बैंकको प्रति सेयर आम्दानीमा पनि राम्रो सुधार भएको छ । प्रति सेयर आम्दानी १३ रुपैयाँ ३२ पैसाबाट बढेर १६ रुपैयाँ ३४ पैसा पुगेको छ । यसले बैंकको प्रतिफल क्षमतामा राम्रो सुधार भएको देखाउँछ ।

मूल्य–आम्दानी अनुपात १४.६९ गुणा, प्रति सेयर नेटवर्थ १८३ रुपैयाँ १४ पैसा कायम भएको छ । यस्तै, प्रति सेयर कुल सम्पत्तिको मूल्य २,२५३ रुपैयाँ ३६ पैसा रहेको छ ।

निक्षेप, कर्जा विस्तार र चुक्ता पुँजी
२०८३ असार मसान्तसम्म बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा २१.५३ प्रतिशत र कर्जा प्रवाह ७.१३ प्रतिशत बढेको देखिन्छ ।

बैंकको चुक्ता पुँजी ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र जगेडा कोषमा गरी कुल ३१ अर्ब ६९ कारोड रुपैयाँ रहेको छ । बैंकको कुल सम्पत्तिको आकार ८ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।