
काठमाडौं । नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अवनिश वीर सिंह तुलाधर सम्मानित भएका छन् । सिंगापुरमा सम्पन्न ‘एसिया बिजनेस लिडर्स अवार्ड्स’मा तुलाधर प्रतिष्ठित ‘सीईओ अफ दी इयर’ अवार्डबाट सम्मानित भएका हुन् ।
यो सफलता नेपाल लिकर्सका लागि मात्र नभएर समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि पनि एक ऐतिहासिक उपलब्धि भएको कम्पनीले जनाएको छ । ‘एसिया बिजनेस लिडर्स अवार्ड्स’ले प्रत्येक वर्ष एसिया क्षेत्रका उत्कृष्ट व्यवसायीलाई उनीहरूको नेतृत्व, रणनीतिक नवप्रवर्तन र सम्बन्धित उद्योगमा पुर्याएको रूपान्तरणकारी योगदानको कदर गर्दै सम्मानित गर्दै आएको छ ।
नेपाल लिकर्सको डाइरेक्टर अफ अपरेसन्सका रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेपछि तुलाधरलाई सीईओको जिम्मेवारी दिइएको थियो । ‘जेन-जी’ पुस्ताका गतिशील नेतृत्वकर्ता तुलाधरले युनिभर्सिटी अफ रिचमन्ड र ईएसएसईसी बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गरेका छन् ।
उनले अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान र कम्पनीभित्रको व्यावहारिक अनुभवलाई संयोजन गर्दै बजारमा आधुनिक एवं दूरदर्शी दृष्टिकोण भित्र्याएका छन् । उनको नेतृत्वले संस्थागत विरासतलाई चुस्त नवप्रवर्तनसँग जोड्दै बजारमा नयाँ गतिशीलता प्रदान गरेको छ ।
‘यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा म अत्यन्तै आभारी छु । यो सफलता मेरो मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको लगनशीलताको परिणाम हो,’ उनले भने ।
२०३६ सालमा स्थापित नेपाल लिकर्स देशभर उच्च गुणस्तरीय मदिराजन्य पेय पदार्थहरूको उत्पादन, मिश्रण तथा वितरण गर्दै आएको कम्पनी हो । कम्पनीले डियाजियोको विश्वसनीय फ्रेन्चाइज पार्टनरका रूपमा सिग्नेचर ह्विस्की र स्मिरनफ भोड्का उत्पादन गर्दै आएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal