• Menu

सैन्य सूचना बाहिर ल्याउने ‘चुहावटकर्ता’ हरूलाई कडा कारबाही र जेल सजाय दिने ट्रम्पको चेतावनी

नेपाल प्रफिट

२०८३ साउन २१, १७:१४

सैन्य सूचना बाहिर ल्याउने ‘चुहावटकर्ता’ हरूलाई कडा कारबाही र जेल सजाय दिने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग आवश्यकताभन्दा बढी अत्याधुनिक हतियार मौज्दात रहेको दाबी गर्दै अमेरिकी सैन्य क्षमतामाथि प्रश्न उठाउने समाचारको खण्डन गरेका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ’ मा सन्देश सार्वजनिक गर्दै ट्रम्पले अमेरिकाभर रक्षा उद्योगका नयाँ उत्पादन केन्द्र र कारखानाहरू तीव्र रूपमा सञ्चालनमा आएको तथा ठूलो परिमाणमा हतियार उत्पादन भइरहेको बताए । आवश्यकताअनुसार ती हतियार अमेरिकी सेनालाई निरन्तर उपलब्ध गराइरहेको उनको भनाइ छ।

ट्रम्पको यो प्रतिक्रिया अमेरिकी समाचार संस्था सिएनएनले इरानविरुद्धको सैन्य कारबाहीपछि अमेरिकाको केही महत्वपूर्ण हतियार भण्डार उल्लेख्य रूपमा घटेको दाबी गर्दै समाचार प्रकाशित गरेको एक दिनपछि आएको हो ।

सिएनएनका अनुसार इरानसँगको द्वन्द्व सुरु भएयता अमेरिकी सेनाले आफ्नो मिसाइल भण्डारको करिब २० प्रतिशत तथा ‘प्याट्रियट’ अवरोधक मिसाइलको झण्डै आधा हिस्सा प्रयोग गरिसकेको छ। साथै, लामो दूरीका अत्याधुनिक सतह-देखि-हावा हतियारको ठूलो हिस्सा पनि खर्च भइसकेको समाचारमा उल्लेख गरिएको छ ।

यहीबीच, वासिङ्टन पोस्टले राष्ट्रपति ट्रम्पले गत साता क्याम्प डेभिडमा भएको बैठकमा रक्षामन्त्री पीट हेग्सेथसँग हतियार भण्डारको वास्तविक अवस्थाबारे असन्तुष्टि व्यक्त गरेको जनाएको छ । इरानसँग सम्बन्धित सैन्य विकल्प सीमित हुने अवस्था किन सिर्जना भयो भन्ने विषयमा ट्रम्पले स्पष्ट जवाफ मागेको समाचारमा उल्लेख छ ।

यसैक्रममा ट्रम्पले हतियारसम्बन्धी गोप्य जानकारी बाहिरिएकोप्रति आक्रोश व्यक्त गर्दै सूचनाको चुहावट गर्ने व्यक्तिको खोजी भइरहेको र दोषी ठहरिए कडा कानुनी कारबाही तथा लामो जेल सजाय हुन सक्ने चेतावनी पनि दिएक छन् ।