• Menu

नबिल बैंकले कमायो करिब आठ अर्ब नाफा, लाभांश क्षमता पनि बढ्यो

नेपाल प्रफिट

२०८३ साउन २०, बुधबार ०७:५८

नबिल बैंकले कमायो करिब आठ अर्ब नाफा, लाभांश क्षमता पनि बढ्यो

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ खुद नाफा, ब्याज आम्दानी र लाभांश वितरण क्षमतामा राम्रो सुधार गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५० प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८१/८२ मा बैंकको नाफा ५ अर्ब ९२ करोड रुपैयाँ थियो । नाफामा आएको यो वृद्धिले बैंकको मुख्य आम्दानी स्रोतमा भएको सुधार र सञ्चालन क्षमतामा सकारात्मक परिवर्तन भएको संकेत गर्छ ।

बैंकले खुद ब्याज आम्दानीमा पनि उल्लेखनीय सुधार गरेको छ । कुल १७ अर्ब ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको १६ अर्ब ३२ करोडको तुलनामा ४.१८ प्रतिशत धेरै हो । यस्तै बैंकले सञ्चालन मुनाफा पनि २५.२२ प्रतिशत बढेर ११ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ ।

कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज)बापत छुट्याएको रकम ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोडमा झरेपछि बैंकको नाफामा राम्रो सुधार देखिएको हो ।

वितरणयोग्य नाफा
खुद नाफामा राम्रो सुधार भएपछि बैंकको लाभांश वितरण क्षमता पनि बढेको छ । वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ छ जुन अघिल्लो वर्षको तुलनामा ३४.०७ प्रतिशत धेरै हो । गतवर्ष बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८५ करोड ५५ लाख रुपैयाँ थियो । प्रतिसेयर वितरणयोग्य नाफा पनि १४ रुपैयाँ २५ पैसाबाट बढेर १९ रुपैयाँ १० पैसा कायम भएको छ ।

निष्क्रिय कर्जा 
बैंकले कर्जा असुलीमा पनि सुधार गर्दै लगेको देखिन्छ । बैंकको निष्क्रिय कर्जा ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ ।

निष्क्रिय कर्जा घट्दा बैंकले सम्भावित कर्जा नोक्सानीका लागि थप रकम छुट्याउनुपर्ने अवस्था छैन । जसले गर्दा इम्पेरमेन्ट चार्जबापत कम रकम छुट्याए हुने भएकाले नाफामा सकारात्मक प्रभाव पर्छ । तर अहिले पनि निक्रिय कर्जा उच्च दरमा रहेकाले बैंकले कर्जा असुली, खराब कर्जा व्यवस्थापन र नयाँ कर्जाको गुणस्तरमा भने विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार
बैंकको प्रतिसेयर आम्दानीमा पनि राम्रो सुधार भएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८९ पैसाबाट बढेर २८ रुपैयाँ ३६ पैसा पुगेको छ । यसले बैंकको प्रतिफल क्षमतामा राम्रो सुधार भएको देखाउँछ ।

मूल्य–आम्दानी अनुपात १८.८६ गुणा कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा कायम भएको छ ।

निक्षेप, कर्जा विस्तार र चुक्ता पुँजी
२०८३ असार मसान्तसम्म बैंकले ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले संकलन गरेको स्रोतलाई राम्रो परिचालन गरिरहेको देखिन्छ । एक वर्षमा बैंकको निक्षेप संकलन र कर्जा विस्तार वृद्धि १२ प्रतिशतभन्दा धेरै छ ।

बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र जगेडा कोषमा गरी कुल ३९ अर्ब ८५ कारोड रुपैयाँ रहेको छ । बैंकको कुल सम्पत्ति ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।