• Menu

जेल र ज्यानको जोखिम मोलेरै डिसेम्बरसम्म स्वदेश फर्किने शेख हसिनाको घोषणा

नेपाल प्रफिट

२०८३ साउन १३, बुधबार १४:३९

जेल र ज्यानको जोखिम मोलेरै डिसेम्बरसम्म स्वदेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले पक्राउ पर्ने, जेल जानुपर्ने वा ज्यानसमेत जोखिममा पर्न सक्ने अवस्था भए पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने घोषणा गरेकी छन् ।

भारतमा निर्वासनमा रहँदै आएकी ७८ वर्षीया हसिनाले एएफपीसँगको इमेल अन्तर्वार्तामा आफूलाई बंगलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताउँदै जुनसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताइन् ।

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि १५ वर्ष लामो शासन अन्त्य हुँदा उनी हेलिकोप्टरमार्फत भारत गएकी थिइन् । संयुक्त राष्ट्रसंघका अनुसार आन्दोलन दमनका क्रममा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो।

गत नोभेम्बरमा ढाकाको अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा हसिनालाई मृत्युदण्डको फैसला सुनाएको थियो। तर उनले उक्त निर्णयलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सबै आरोप अस्वीकार गरेकी छन्।

हसिनाले भारतमा सम्मानपूर्वक बसिरहेको बताउँदै आफ्नो स्वदेश फर्कने निर्णय कुनै बाह्य दबाब वा भारतसँगको प्रत्यर्पण प्रक्रियासँग सम्बन्धित नभएको स्पष्ट पारिन् ।

उनले आफ्नो शासनकालमा मानवअधिकार उल्लंघन, विपक्षीमाथि दमन, गैरन्यायिक हत्या र विवादास्पद निर्वाचन गराएको आरोपलाई राजनीतिक रूपमा प्रेरित भएको दाबी गरिन् । विद्यार्थी आन्दोलन दमनमा अत्यधिक बल प्रयोग गरिएको आरोप पनि उनले अस्वीकार गर्दै आन्दोलन योजनाबद्ध राजनीतिक अभियान भएको टिप्पणी गरिन् ।

शेख हसिनाले स्वदेश फर्किएपछि सक्रिय राजनीतिमा फर्किने वा नफर्किनेबारे स्पष्ट नखुलाए पनि आफ्नो लक्ष्य सत्ता प्राप्ति नभई जनताको सेवा रहेको बताइन् । आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारप्रति सहानुभूति व्यक्त गर्दै उनले सरकारका निर्णयप्रति माफी माग्न भने अस्वीकार गरिन् ।