
एजेन्सी । इरानका संसद्का उपसभामुख हमिदरेजा हाजी बाबाईले इरान अमेरिकासँग कहिल्यै समझदारीमा पुग्न नसक्ने बताएका छन् । उनले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलघाँटीलाई इरानको ‘शक्तिको शिखर’को संज्ञा दिँदै प्रतिरोधको नीति निरन्तर अघि बढाइने बताएका हुन्।
इरानी समाचार संस्था आइएसएनएका अनुसार संसद्को बैठकलाई सम्बोधन गर्दै हाजी बाबाईले हिजबुल्लाहले इरानी नेतृत्वप्रति व्यक्त गरेको समर्थनलाई प्रतिरोध आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा इरानको प्रभाव बढाएको र अमेरिका तथा इजरायललाई पछि हट्न बाध्य बनाएको उनको दाबी छ।
उनले लेबनानको सार्वभौमिकता, भौगोलिक अखण्डताको संरक्षण र इजरायली आक्रमणको पूर्ण अन्त्यलाई कुनै पनि सम्भावित समझदारीको पहिलो सर्त बनाइएको पनि बताए ।
हाजी बाबाईले अमेरिकाले क्षेत्रीय राजनीतिमा प्रभाव जमाउन खोजे पनि इरानी जनताको इच्छाशक्तिका कारण त्यसमा सफल हुन नसकेको दाबी गर्दै इरान वासिङ्टनको इच्छाअनुसार नचल्ने स्पष्ट पारे ।
उनका अनुसार अमेरिकाको युद्ध, शान्ति र संवादसम्बन्धी नीति सबै रणनीतिक स्वार्थबाट निर्देशित हुने भएकाले इरानसँग दीर्घकालीन समझदारी सम्भव छैन।
हाजी बाबाईले विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्ग मानिने हर्मुज जलघाँटी इरानको महत्वपूर्ण रणनीतिक शक्ति भएको उल्लेख गर्दै यसको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
यसैबीच, क्यास्पियन सागर क्षेत्रमा इरानी जहाजमाथि हालै भएका भनिएका आक्रमणको प्रसङ्ग उठाउँदै उनले युक्रेनलाई चेतावनी दिँदै त्यस्ता गतिविधि दोहोरिए इरानले कडा प्रतिक्रिया दिने बताए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal