
एजेन्सी । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि देशभर भएका प्रदर्शनका क्रममा पक्राउ परेका सबै प्रदर्शनकारीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
परीक्षामा प्रश्नपत्र चुहावट तथा अन्य अनियमितताविरुद्ध आन्दोलन गरिरहेको अनलाइन समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी)ले असाम, पश्चिम बंगाल, बिहारलगायत विभिन्न राज्यमा विद्यार्थीहरूलाई हिरासतमा राखिएको जानकारी प्राप्त भएको जनाएको छ।
समूहले विज्ञप्ति जारी गर्दै पक्राउ परेका प्रदर्शनकारीलाई रिहा नगर्नु वा उनीहरूमाथिका आपराधिक मुद्दा फिर्ता नलिनु जनविश्वासको उल्लङ्घन हुने चेतावनी दिएको छ। आफ्ना माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि समूहले जनाएको छ।
प्रतिस्पर्धात्मक परीक्षामा पटक-पटक प्रश्नपत्र चुहावट र अनियमितता दोहोरिएपछि विद्यार्थी तथा युवामा असन्तुष्टि बढिरहेका बेला शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दुई दिनअघि राजीनामा दिएका थिए।
सीजेपीले प्रदर्शनकारीमाथि दण्डात्मक कारबाही नगर्ने सरकारी आश्वासन कार्यान्वयन नभएको आरोप लगाएको छ।
गत साता नयाँदिल्लीसहित विभिन्न सहरमा परीक्षा प्रणालीमा सुधार र शिक्षामन्त्रीको राजीनामाको माग गर्दै विद्यार्थीहरूको नेतृत्वमा प्रदर्शन भएको थियो। जुलाई २० मा नयाँदिल्लीमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गर्दै धेरै प्रदर्शनकारीलाई हिरासतमा लिएको थियो।
यसैबीच, संसद्मा पनि उक्त विषय उठेको छ। विपक्षी दलहरूले प्रदर्शनकारीमाथिको प्रहरी कारबाहीबारे सरकारसँग जवाफ माग्दै सदन अवरुद्ध गरेका छन्। सरकारले भने प्रश्नपत्र चुहावटमा संलग्नलाई कडा सजायको व्यवस्था गर्ने विधेयक तल्लो सदनमा प्रस्तुत गरेको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal