• Menu

युक्रेनलाई थप सैन्य सहयोग र रुसमाथि कडा प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

नेपाल प्रफिट

२०८३ साउन १३, बुधबार ११:४४

युक्रेनलाई थप सैन्य सहयोग र रुसमाथि कडा प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

वासिङ्टन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सिनेटले रुसविरुद्धको प्रतिबन्ध विधेयक अगाडि बढाउन गरेको प्रक्रियागत मतदानलाई स्वागत गर्दै यसलाई ‘शान्तितर्फको पहिलो कदम’ भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि उनले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली सुदृढ बनाउन अमेरिकी सहयोग अझ विस्तार हुने विश्वास पनि व्यक्त गरे ।

ह्वाइट हाउसमा भएको एक घण्टाभन्दा लामो भेटपछि फक्स न्युजसँग कुरा गर्दै जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँग सकारात्मक छलफल भएको जानकारी दिए । उनका अनुसार ट्रम्पले प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उत्पादनका लागि आवश्यक इजाजतपत्र उपलब्ध गराउन सहमति जनाएका छन् ।

वासिङ्टन भ्रमणका क्रममा जेलेन्स्कीले अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनका प्रतिनिधिसँग पनि भेटवार्ता गर्दै एटीएसीएमएस, हिमार्स, एफ-१६ लडाकु विमान तथा प्याट्रियट प्रणालीमा सहकार्य विस्तार, संयुक्त उत्पादन र प्रविधि आदानप्रदानबारे छलफल गरेका थिए । उनले दुवै पक्ष सहउत्पादनको कार्ययोजना अघि बढाइरहेको जानकारी दिए ।

भेटपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बैठक सफल भएको उल्लेख गर्दै दुवै पक्षबीच धेरै महत्त्वपूर्ण विषयमा छलफल भएको बताएका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटका दुवै दलका ६० भन्दा बढी सिनेटरसँग पनि भेट गरेका थिए । छलफलमा युक्रेनको हवाई प्रतिरक्षा क्षमता अभिवृद्धि, अमेरिकी सहयोगको निरन्तरता तथा रुसको आक्रमणको प्रतिकार गर्ने रणनीतिका विषय समेटिएका थिए।

यसैबीच, अमेरिकी सिनेटले रुसविरुद्धको प्रतिबन्ध विधेयकलाई अगाडि बढाउन ८६-१२ मतले प्रक्रियागत स्वीकृति दिएको छ। जेलेन्स्कीले उक्त मतदानलाई स्वागत गर्दै यसले शान्ति स्थापनाको प्रयासलाई थप बल पुग्ने विश्वास व्यक्त गरे ।

सिनेटको विदेश सम्बन्ध समितिकी डेमोक्रेट सिनेटर जीन शाहिनले पनि अब रुसमाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढेको बताउँदै युक्रेनमाथि भएको विनाशको जिम्मेवारी रुसले वहन गर्नुपर्ने धारणा राखे ।

युक्रेन-रुस युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वमा भएका कूटनीतिक प्रयास अपेक्षित रूपमा सफल हुन नसकेको अवस्थामा युक्रेनले आफ्नो हवाई प्रतिरक्षा क्षमता विस्तार र रणनीतिक साझेदारीलाई प्राथमिकतामा राख्दै अमेरिकी राजनीतिक नेतृत्व तथा रक्षा उद्योगसँग उच्चस्तरीय संवादलाई तीव्र बनाएको छ ।