
न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कब्जा गरिएको वेस्ट ब्यांक क्षेत्रमा इजरायली बासिन्दाबाट प्यालेस्टिनी समुदायमाथि भइरहेका बढ्दो आक्रमणको कडा निन्दा गरेका छन् । उनले धार्मिक स्थल, निजी सम्पत्ति र सर्वसाधारणमाथि भएका आक्रमण तत्काल रोक्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।
महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार हालै भएका आक्रमणमा दुई वटा मस्जिदमा आगजनी, निजी सम्पत्तिमा तोडफोड तथा प्यालेस्टिनी नागरिकलाई लक्षित हिंसात्मक घटना भएका छन्। गुटेरेसले धार्मिक स्थलमाथिको आक्रमणलाई घृणित र अस्वीकार्य भन्दै यसले पहिलेदेखि नै तनावग्रस्त क्षेत्रमा थप हिंसा भड्काउने जोखिम बढाएको बताएका छन् ।
उनले इजरायली अधिकारीहरूलाई अन्तर्राष्ट्रिय कानुनअनुसार दोषीको पहिचान गरी जवाफदेही बनाउन, प्यालेस्टिनी नागरिक, उनीहरूको सम्पत्ति तथा धार्मिक स्थलको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरेका छन् । साथै, सबै पक्षलाई संयमता अपनाएर तनाव कम गर्न र शान्ति पुनर्स्थापनाका लागि पहल गर्न आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो समय वेस्ट ब्यांकमा इजरायली बासिन्दाबाट प्यालेस्टिनी समुदायमाथि हुने हिंसाका घटना बढिरहेका छन्। गत शुक्रबार नब्लुसको दक्षिणपश्चिम क्षेत्रमा भएको हिंसात्मक घटनामा चार जना प्यालेस्टिनी र दुई जना इजरायली नागरिकको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए। घटनामा प्यालेस्टिनी सम्पत्तिमा पनि ठूलो क्षति पुगेको बताइएको छ।
मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका उपविशेष संयोजक रमिज अलक्बरोभले सुरक्षा परिषद्मा उक्त हिंसाले क्षेत्रीय शान्ति प्रक्रियालाई थप जटिल बनाएको बताएका छन् ।
नब्लुस घटनापछि इजरायलले वेस्ट ब्यांकमा व्यापक गिरफ्तारी अभियान सञ्चालन गर्दै कम्तीमा ८० जना प्यालेस्टिनीलाई हिरासतमा लिएको जनाइएको छ। साथै, विभिन्न सञ्चारमाध्यमका अनुसार आइतबार इजरायली बासिन्दाले वेस्ट ब्यांकका प्यालेस्टिनी गाउँमा आक्रमण गरी दुई वटा मस्जिदमा आगजनी गरेका छन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal