काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्काल वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ सेवा सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट आवश्यक कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यस सुविधामार्फत अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ भने धितो सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ ।
बैंकले यो सेवाले ग्राहकहरूको व्यक्तिगत तथा व्यावसायिक दुवै प्रकारका वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
हालका लागि काठमाडौंस्थित न्युरोड गेट शाखाबाट उपलब्ध गराइएको यो सेवा क्रमशः अन्य शाखामा पनि विस्तार गरिने बैंकले जनाएको छ।
यस सेवाबारे थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ वा बैंकका अन्य आधिकारिक माध्यममार्फत सम्पर्क गर्न सक्नेछन् ।