• Menu

स्वदेशी जुत्ता-चप्पलको निर्यात र बजार प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेछ : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८३ साउन १, शुक्रबार १५:०३

स्वदेशी जुत्ता-चप्पलको निर्यात र बजार प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता-चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँग छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सिर्जना लागि आवश्यक सहयोग पुर्‍याउने बताए ।

उनले तीन वटै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादनसम्बन्धी सीपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता-चप्पलको प्रवर्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताए । यस्तै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमामा ट्रयाकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने उनको भनाइ थियो ।

छलफलमा संघका पदाधिकारी तथा सदस्यले विभिन्न सीमा नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, करको दायराबाहिर रहेका अन्तरराष्ट्रिय तथा राष्ट्रिय उत्पादनलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन जुत्ता-चप्पलको आयात नियन्त्रण गर्न तथा आयातित जुत्ता-चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए । साथै, उनीहरुले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री व्यवस्था भए स्वदेशी जुत्ता-चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाएकf थिए ।

संघका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता थियो ।