• Menu

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

नेपाल प्रफिट

२०८३ असार ३२, १६:१९

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २ हजार ५९७.२८ अंकमा पुगेको छ। लगातार तेस्रो कारोबार दिन बजारमा हरियाली देखिएको हो ।

कारोबारका क्रममा बजार एक समय २ हजार ५८१ अंकसम्म झरे पनि अन्तिम समयमा उच्च अंकले सुधार हुँदा नेप्से सकारात्मक अवस्थामा बन्द भएको हो। कारोबार रकम पनि बढेर ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १२१ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । बैंकिङ, विकास बैंक, लगानी, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा, अन्य र व्यापार समूहका सूचक बढेका छन्। उत्पादन तथा प्रशोधन, जलविद्युत, होटल तथा पर्यटन र वित्त समूह भने घटेका छन्।

फर्स्ट माइक्रोफाइनान्स, चिरख्वा हाइड्रोपावर, पियोर इनर्जी, माइखोला हाइड्रोपावर र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्। कर्पोरेट डेभलपमेन्ट बैंक, भुजुङ हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावरको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ।

यसैबीच, साउन १ गतेदेखि सेयर कारोबारमा नयाँ पूँजीगत लाभकर व्यवस्था लागू हुने भएको छ। अब एक वर्षभन्दा कम अवधिसम्म धारण गरिएको सेयर बिक्रीबाट भएको नाफामा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधिसम्म धारण गरिएको सेयरको नाफामा ७.५ प्रतिशत कर लाग्नेछ ।