
काठमाडौं । कुमारी बैंकले बाजुराको गौमुल गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्मार्ट टेलिभिजन उपलब्ध गराएको जनाएको छ ।
बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवर्धन गर्ने, विद्यार्थीको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने र गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ ।
भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने बैंकको अपेक्षा छ ।
बैंकले गौमुल गाउँपालिका ५ को मानाकोट मावि, गौमुल २ का जनज्योति मावि र पूलपाता मावि, गौमुल १ मा रहेको अम्लिस मावि, गौमुल ६ मा रहेको कीर्तिचौर मावि र गौमुल ३ मा रहेको बालविकास माविलाई टेलिभिजन हस्तान्तरण गरेको जनाएको छ ।
कुमारी बैंकले शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको विश्वास गर्दै ग्रामीण तथा सहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोत–साधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बैंकले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास लिएको छ । यसबाट दुर्गम क्षेत्रका विद्यार्थीले पनि सहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री सिकाइको अवसर प्राप्त गरी गुणस्तरीय शिक्षामा समान पहुँच हासिल गर्न सक्ने अपेक्षा गरिएको छ ।
‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
शिक्षा क्षेत्रमा गरिएको यस सहयोगले भविष्यका पुस्ताहरुलाई डिजिटल युगअनुकूल ज्ञान र सीप हासिल गर्न प्रेरित गर्नुका साथै स्थानीय स्तरमा शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका २८६ शाखा, ४१ विस्तार काउन्टर, ३०४ एटीएम, ४० शाखारहित बैंकिङ इकाइमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal