• Menu
s

बी एन्ड बी टेक ग्रुपद्वारा ‘तिम्रो टिकट’ एप सार्वजनिक

नेपाल प्रफिट

२०८३ असार १, ०५:५८

बी एन्ड बी टेक ग्रुपद्वारा ‘तिम्रो टिकट’ एप सार्वजनिक

काठमाडौं । बी एन्ड बी टेक ग्रुपले शनिबार काठमाडौंको बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा आयोजित विशेष समारोहबीच नयाँ व्यावसायिक उद्यमहरू औपचारिक आरम्भ गर्दै ‘तिम्रो टिकट’ नामक ई–टिकेटिङ मोबाइल एप सार्वजनिक गरेको छ ।

सन् २०१८ मा विद्यालयकालीन साथीहरू डा. विकास लम्साल र इन्जिनियर विमल कुमार केसीद्वारा स्थापना गरिएको बी एन्ड बी टेकले निरन्तर विस्तार र विकासको यात्रामा अघि बढ्दै सन् २०२२ मा ‘बी एन्ड बी टेक ग्रुप’को रूपमा पुनः ब्रान्डिङ गरेको छ ।

प्रविधि अनुसन्धान तथा विकासका क्षेत्रमा सक्रिय कम्पनीले जापानका प्रतिष्ठित संस्थाहरू तथा कम्पनीहरू जस्तै काजिमा कर्पोरेसन, एनएआईटी कर्पोरेसन तथा आईबीएमसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति बलियो बनाएको छ ।

कार्यक्रममा बी एन्ड बी टेक ग्रुपसँगै बी एन्ड बी टेक्निकल रिसर्च इन्स्टिच्युट, फिस्टेल एकेडेमी ब्रिज तथा हाकिम इन्टरटेन्मेन्टको संयुक्त सहकार्यको औपचारिक घोषणासमेत गरिएको छ । यी संस्थाहरूले प्रविधि, अनुसन्धान, शिक्षा, सीप विकास तथा मनोरञ्जन क्षेत्रलाई एकै मञ्चमा जोड्दै नेपालमा नवीन अवसरहरू सिर्जना गर्ने लक्ष्य लिएको जनाइएको छ ।

बी एन्ड बी टेक ग्रुपका अध्यक्ष तथा सह–संस्थापक डा. लम्सालले आफ्नो व्यावसायिक तथा अनुसन्धान यात्राबारे प्रस्तुति दिँदै नेपालबाट जापानसम्मको आफ्नो संघर्ष, उपलब्धि तथा अन्तर्राष्ट्रिय अनुभवबारे जानकारी गराए ।

त्यस्तै चर्चित नेपाली र्‍यापर सुरेन्द्र गुरुङ (हाकिम) ले फेसन मोडलिङदेखि नेपाली हिप–हप संगीत क्षेत्रमा स्थापित कलाकार बन्ने आफ्नो प्रेरणादायी यात्राबारे अनुभव सुनाए ।

त्यसैगरी फिस्टेल एकेडेमी ब्रिजका प्रमुख सञ्चीव अर्यालले संस्थाको भावी योजना प्रस्तुत गर्दै नेपाली युवालाई जापान स्तरीय भाषा, सीप तथा व्यावसायिक दक्षतासँग जोड्ने लक्ष्य रहेको बताए ।

कार्यक्रमको मुख्य आकर्षण बी एन्ड बी टेक ग्रुपद्वारा विकसित ‘तिम्रो टिकट’ ई–टिकेटिङ मोबाइल एपको औपचारिक सार्वजनिक गरियो । कम्पनीका फुल–स्ट्याक डेभलपर आश्विन सुनारले एपका विभिन्न विशेषताहरू, प्रयोगकर्ता–मैत्री डिजाइन तथा नेपालमा टिकट व्यवस्थापनलाई डिजिटल, सुरक्षित र सहज बनाउने उद्देश्यबारे विस्तृत प्रस्तुति दिए ।

उनका अनुसार ‘तिम्रो टिकट’ एपले विभिन्न कार्यक्रम, सांगीतिक कन्सर्ट, खेलकुद प्रतियोगिता, सांस्कृतिक गतिविधि तथा अन्य सार्वजनिक कार्यक्रमहरूको टिकट खरिद तथा व्यवस्थापन प्रक्रियालाई सरल र आधुनिक बनाउनेछ । यसले नेपालमा डिजिटल टिकटिङ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।