• Menu
s

उद्योग संगठन मोरङले आयोजना गर्‍यो सीप उत्सव

नेपाल प्रफिट

२०८३ जेठ २९, शुक्रबार ०७:१४

उद्योग संगठन मोरङले आयोजना गर्‍यो सीप उत्सव

मोरङ । उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीच रहेको दक्षताको अन्तरका साथै सीप विकासका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना, स्विस सरकारको आर्थिक सहयोग, इन्स्योर हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सीप उत्सव २०८३ हुने भएको छ ।

जेठ ३१ गते उद्योग संगठन मोरङको सचिवालय विराटनगरमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने उत्सवमा अन्तर शिक्षालय सीप प्रतियोगिता, लाइभ तालिम, वृत्ति परामर्शका गतिविधि सञ्चालन गरिनेछ भने सोही दिन अपराह्न ४ बजे अन्तिम चरणको सीप प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगीलाई पुरस्कार प्रदान गरिने संगठनले जनाएको छ ।

उत्सवले तालिम प्रदायक संस्था, उद्योग प्रतिष्ठान, सरकारी निकाय तथा प्रशिक्षार्थी बीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउदै आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, रोजगारीका अवसरको सुनिश्चितता तथा स्वदेशमै रोजगारीका सम्भावना रहेको सन्देश प्रवाह गर्ने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वताए ।

उत्सवले स्वदेशमा रहेको सीप विकासका अवसरबारे जानकारी गराउनुका साथै प्राविधिक शिक्षा तथा  अप्रेन्टिसिप कार्यक्रमको महत्वबारे सचेतना अभिवृद्धि गर्न र सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहयोग पु¥याउने विश्वास अध्यक्ष राठीले व्यक्त गरे ।

उत्सवमा सूचना प्रविधि, होटल म्यानेजमेन्ट तथा अटोमोबाइलको विद्यामा सीप प्रतियोगिताका साथै माटाको भाडावर्तन, प्लम्बिङ, इन्डस्ट्रियल अटोमेसन, सिसिटिभी, थ्रिडी प्रिन्टिङ, ग्रिन स्किलका विधामा लाइभ तालिम र विद्यार्थी तथा युवाका लागि करियर काउन्सेलिङ र वृत्ति परामर्श सत्र सञ्चालन गर्ने  संगठनका कार्यसमिति सदस्य एव मानव संशाधन विकास समितिका संयोजक दीपक अग्रवालले बताए ।

उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, अटोमोबाइल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, उद्योग प्रतिष्ठानका प्रतिनिधि, प्राविधिक शिक्षालय, सूचना प्रविधि, हस्पिटालिटी क्षेत्रका प्रदेश तथा जिल्ला स्तरका विभिन्न संघसंस्थाहरूको सहभागिता रहने संयोजक अग्रवालले जानकारी दिए ।

सीप उत्सवले व्यावसायिक सीप विकास, करियर मार्गदर्शन तथा उद्योगसंगको सहकार्यलाई संस्थागत गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीलाई उद्योगमैत्री र व्यावहारिक बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा संगठनले लिएको छ ।