
काठमाडौं । नयाँ बानेश्वरका व्यवसायीले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । नयाँ बानेश्वरका व्यवसायीको संगठन नयाँ बानेश्वर व्यापार व्यवसायी संघले शुक्रबार रक्तदान तथा स्वास्थ्य शिविर आयोजना गरेका हुन् ।
छक्कुबक्कु पार्कमा आयोजित ‘बृहत् रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम’मा सर्वसाधारण र व्यवसायीले सहभागिता उल्लेख्य संख्यामा जनाएका छन् । संघकी उपाध्यक्ष विष्णुमाया खरेलका अनुसार १०५ जनाले रक्तदान गरेका छन् भने ११० जनाले नि:शुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

शिविरमा १४४ जनाले दन्त परीक्षण गराएको र ७२ जनाले आँखा परीक्षण गराएको उनले जानकारी दिइन् । स्वास्थ्य शिविरका लागि एभरेस्ट हस्पिटलबाट मथुरा आचार्यको नेतृत्वमा डा. निर्माण लम्साल र नन्दन ठाकुरको टिम सहभागी भएको थियो ।
त्यस्तै दन्त परीक्षणका समाज डेन्टल अस्पतालका इन्चार्ज रोशनराज खतिवडा, डा. चाँदनी प्रधान, डिएच सरस्वती ठाकुर र असिटेन्ट भगवती श्रेष्ठको टोली खटिएको संघले जनाएको छ । उपाध्यक्ष खरेलका अनुसार आँखा परीक्षणका मेट्रो आइ केयर सेन्टरले सहयोग गरेको थियो ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ की प्रतिनिधि सभा सदस्य रञ्जु दर्शनाले रक्तदानका लागि सबैलाई इन्करेज गर्नुपर्ने र उमेर पुगेका स्वस्थ्य व्यक्ति सबैले रक्तदान गर्नुपर्ने बताइन् । ‘जसले रक्तदान गर्छ, उसले जीवन नै दान गर्छ,’ उनले भनिन् ।
त्यस्तै उनले व्यापारी व्यवसायीलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्नेमा रास्वपा सरकार केन्द्रित रहेको पनि जानकारी गराइन् । ‘उपयुक्त नीति निर्माणका लागि सुझाव दिनुहोस्, हामी तयार छौँ,’ उनले भनिन् ।

त्यस्तै संघका अध्यक्ष रमेशमान शाक्यले रगतको अभाव कसैलाई नहोस्, कसैको रगतले कसैलाई बचाओस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । संघले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal