
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिकरबीच मंगलबार नेपाल चेम्बर अफ कमर्स सचिवालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध, लगानी प्रवर्धन, पर्यटन विकास तथा खाडी क्षेत्रमा कार्यरत नेपालीको सुरक्षालगायतका विषयमा विस्तृत छलफल भएको छ ।
भेटमा अध्यक्ष अग्रवालले साउदी अरब नेपालका लागि अत्यन्त महत्वपूर्ण आर्थिक साझेदार रहेको बताए । विशेषगरी वैदेशिक रोजगारी, रेमिट्यान्स तथा लगानीका सम्भावनाका कारण साउदी अरबको भूमिका नेपालको अर्थतन्त्रमा महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।
अध्यक्ष अग्रवालले हाल नेपाल र साउदी अरबबीचको द्विपक्षीय व्यापार करिब १० मिलियन अमेरिकी डलर रहेको जानकारी दिँदै करिब ९ मिलियन डलरबराबरको आयात तथा १ मिलियन डलरबराबरको निर्यात भइरहेको बताए । श्रम सहकार्यमा मात्र सीमित नभई व्यापार, पर्यटन, लगानी तथा आर्थिक विकासका क्षेत्रमा समेत सहकार्य विस्तार गर्नुपर्ने उनको धारणा छ ।
अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा जडिबुटी, सूचना प्रविधिलगायतका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनपछि स्थिर सरकार बनेकाले निजी क्षेत्र उत्साहित रहेको र नेपालमा साउदी लगानी विस्तार गर्न आग्रहसमेत गरे ।
खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै उनले साउदी अरबले हजारौं नेपाली युवालाई रोजगारी प्रदान गर्दै आएको बताए । निर्माण, पूर्वाधार, सुरक्षा सेवा, आतिथ्य तथा पर्यटन, स्वास्थ्य सेवा, यातायात तथा लजिस्टिक्स क्षेत्रमा नेपालीहरू कार्यरत रहेको उनले जनाए ।
अध्यक्ष अग्रवालले साउदी अरबको भिजन २०३० कार्यक्रमले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै नियोम, द रेड सी परियोजना तथा क्युदिया जस्ता मेगा परियोजनामा नेपाली जनशक्ति, ठेकेदार तथा सहयोगी उद्योगहरूले योगदान दिन सक्ने धारणा उनले राखे ।
भेटका क्रममा राजदूत मनिकरले साउदी अरब विदेशी लगानी तथा आर्थिक साझेदारीका लागि खुला हुँदै गएको बताए । आगामी सन् २०३४ को फिफा विश्वकप तथा एक्स्पो २०३० जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले विभिन्न क्षेत्रमा लगानी सहकार्यका थप अवसर सिर्जना गर्ने उनले स्पष्ट पारे । साउदी अरबमा अन्तराष्ट्र्रिय कम्पनीहरु भित्रिने क्रम बढेको र विदेशी लगानी थप आकर्षित हुँदै गएको पनि उनले जानकारी दिए ।
भेटका अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपककुमार मल्होत्राले नेपालमा लगानीको वातावरण अत्यन्तै सकारात्मक बन्दै गएको बताए । नेपाल र साउदी अरबबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
त्यसयता दुई देशबीचको सम्बन्ध श्रम सहकार्यबाट अघि बढ्दै व्यापार, पर्यटन, सुरक्षा, पूर्वाधार तथा लगानी सहकार्यासम्म विस्तार भएको छ । नेपालले सन् १९७८ मा रियादमा आफ्नो दूतावास स्थापना गरेको थियो भने साउदी अरबले सन् २०२२ मा काठमाडौंमा दूतावास स्थापना गरेको हो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal