
काठमाडौं । कुमारी बैंकले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सञ्चालनमा ल्याएको छ ।
कुमारी बैंकले व्यवसायी ग्राहकलाई यस नवीन पहलमार्फत आईएमएसको सफ्टवेयरमार्फत बिनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने भएको छ । यस प्ल्याटफर्मले कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न गर्ने सुविधा प्रदान गर्छ ।
यस प्रणालीसँगको प्रत्यक्ष एकीकरणमार्फत बैंकले व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातजस्ता वास्तविक समय डेटाका आधारमा कर्जा योग्यता मूल्यांकन गर्न सक्नेछ । यस डेटामा आधारित प्रणालीले छिटो र सटिक निर्णय लिन सहयोग पुर्याउँदै परम्परागत धितो आवश्यकताबिनै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउने बैंकले जनाएको छ ।
यसमार्फत व्यवसायीले आफ्नै कार्यसम्पादनका आधारमा ५ लाखसम्मको चालु पुँजी कर्जा प्राप्त गर्न सक्नेछन्, जसलाई १२ महिनासम्मको समान मासिक किस्तामार्फत भुक्तानी गर्न सकिने व्यवस्था छ । सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा भविष्यमा कर्जा सीमा वृद्धि गर्दै वित्तीय प्रक्रियालाई अझ सरल, छिटो र प्रभावकारी बनाउने योजना बैंकले राखेको छ ।
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमहरूलाई लक्षित गर्दै ल्याइएको यस पहलले वित्तीय समावेशीकरणलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ । साथै, यसले उद्यमशीलता प्रवर्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ ।
२८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरहरूको देशव्यापी सञ्जाल, सुदृढ बैंकिङ अनुभव तथा प्रविधिक साझेदारहरूसँगको सहकार्यबाट कुमारी बैंक नेपालमा डिजिटल वित्तीय रूपान्तरणको अग्रपंक्तिमा उभिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal