• Menu
s

सम्पदा वस्ती संरक्षण र मौलिक कलाको पुनरोत्थान महानगरको प्राथमिकता, ‘काठमाडौं फिल्म फेस्टिबल’मा विदेशी पाहुना आउने

नेपाल प्रफिट

२०८३ जेठ ३१, १७:१६

सम्पदा वस्ती संरक्षण र मौलिक कलाको पुनरोत्थान महानगरको प्राथमिकता, ‘काठमाडौं फिल्म फेस्टिबल’मा विदेशी पाहुना आउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने जनाएको छ ।

आइतबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फेस्टिबलको आयोजना गरिने बताइन् ।

उनले भनिन्, ‘विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिबलको आयोजना गरिनेछ । मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवम पुनरोत्थानको लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्वका निजी तथा संस्थागत भवन पुननिर्माण गर्न र सम्पदा वस्ती संरक्षण गर्न प्रोत्साहित गरिनेछ ।’

त्यस्तै काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरको रूपमा विकास गरिने बताइन् ।

‘काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरको रूपमा विकास गरिनेछ। यहाँका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक महत्वका मठ, मन्दिर, चैत्य द्योस्छें, वहा-वहि, हिती, पोखरी, गुम्बा, स्तुपा, चोक, ननी, डबली, फल्चालगायतका संरचना तथा सम्पदा स्थलहरूको अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामाकरण, नक्सांकन, मर्मत, जिर्णोद्धार, पुननिर्माण गरी संरक्षण, सम्वर्धन र प्रवर्धन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।