काठमाडौं । नेपालको अर्थतन्त्र सुस्त गतिमा थियो, लगानीकर्ताको आत्मविश्वास खस्किएको थियो र निजी क्षेत्र अन्योलमा थियो, त्यही संवेदनशील घडीमा उद्योगी व्यवसायीहरुको सबैभन्दा ठुलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हालेका थिए, चन्द्रप्रसाद ढकालले ।
२०८० चैत ३० गतेको त्यो क्षण केवल पदभार ग्रहण गर्ने क्षण थिएन, चुनौतीपूर्ण यात्राको सुरुवात पनि थियो, जहाँ उनलाई निजी क्षेत्रको मनोबल जगाउने, राज्यसँगको सम्बन्ध पुनः परिभाषित गर्ने र आर्थिक गतिविधिलाई पुनर्जीवित गर्ने जिम्मेवारी एकसाथ आएको थियो ।
तीन वर्षपछि फर्केर हेर्दा, उनको कार्यकाल केवल प्रशासनिक निरन्तरता नभई रूपान्तरणको प्रयास, सहकार्यको संस्कृति निर्माण र नीतिगत हस्तक्षेपमार्फत निजी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने एउटा महत्त्वपूर्ण चरणका रूपमा उभिएको छ ।
अध्यक्ष ढकालले महासंघको नेतृत्व सम्हाल्दा अर्थतन्त्रका सूचकहरू उत्साहजनक थिएनन् । विश्वव्यापी कोभिड-१९ महामारीको प्रभावले थला परेको अर्थतन्त्र विस्तारै उठ्ने प्रयासमा थियो तर जटिलता धेरै थिए । उत्पादन घटेको थियो, बजार सुस्त थियो, उपभोग कमजोर थियो र लगानी स्थिर थियो ।
त्यही आन्तरिक प्रतिकूलताका बीच अन्तर्राष्ट्रिय परिस्थितिले थप दबाब सिर्जना गर्यो । रुस-युक्रेन द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति शृंखला प्रभावित भयो, इन्धनको मूल्य बढ्यो र मुद्रास्फीति नियन्त्रणबाहिर जाने संकेत देखिन थाल्यो । यसको प्रत्यक्ष प्रभाव नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रमा देखियो ।
उच्च ब्याजदर, बैंकिङ प्रणालीमा तरलता अभाव, घट्दो कर्जा प्रवाह र लगानीकर्तामा बढ्दो निराशा नेपालको अर्थतन्त्रका परिचायक बनेका थिए । बारम्बारको सरकार परिवर्तनले नीतिगत स्थिरता थप कमजोर बनिरहेको थियो । यस्तो अवस्थामा नेतृत्व सम्हाल्नु भनेको केवल पद सम्हाल्नु होइन, संकट व्यवस्थापन गर्नु थियो । ढकालका लागि पहिलो परीक्षा यहीँबाट सुरु भयो ।
मनोबल जगाउने प्रयास
प्रारम्भिक चरणमा ढकालले निजी क्षेत्रको मनोबल जगाउन विशेष ध्यान दिए । किनकि, कुनै पनि अर्थतन्त्रमा लगानी र उत्पादनको आधार मनोवैज्ञानिक विश्वासमै टिकेको हुन्छ । जब निजी क्षेत्र निराश हुन्छ, अर्थतन्त्र स्वतः सुस्त हुन्छ ।
सकारात्मक बन्न उनले सार्वजनिक अपिल गरे । प्रत्यक्ष रुपमा उद्योगी-व्यवसायीसँग अन्तर्क्रिया गरे, उनीहरूको समस्या सुने र समाधानका लागि पहल गर्ने काम गरे । उनको प्रयासले निजी क्षेत्रभित्र ‘हाम्रो कुरा सुनिन्छ’ भन्ने विश्वास पुनःस्थापित गर्न मद्दत गर्यो ।
तर, अध्यक्ष ढकाल मनोबल जगाउने काममा सीमित रहेनन्, उनले निजी क्षेत्रलाई नै दिशा दिने पहल थाले । लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार र राज्यसँगको सहकार्यलाई स्पष्ट प्राथमिकतामा राख्दै उनले महासंघको भूमिकालाई सक्रिय बनाए ।
टकरावबाट सहकार्यतर्फ
ढकालको नेतृत्वको सबैभन्दा उल्लेखनीय पक्ष भनेको राज्य र निजी क्षेत्रबीचको सम्बन्धमा आएको परिवर्तन हो । विगतमा यी दुई निकायबीचको सम्बन्ध प्रायः माग र प्रतिक्रिया केन्द्रित थियो- निजी क्षेत्रले माग राख्ने, सरकारले सम्बोधन गर्ने वा नगर्ने ।
ढकालले यो ढाँचामा परिवर्तन गर्ने प्रयास गरे । उनले संवादलाई औपचारिकमात्र होइन, निरन्तर र परिणाममुखी बनाए । प्रधानमन्त्रीदेखि मन्त्री र मुख्यसचिवदेखि नियामक निकायसम्म उनले नियमित सम्पर्क र समन्वय गरिरहे ।
यसले दुईवटा महत्वपूर्ण परिवर्तन ल्यायो । पहिलो, निजी क्षेत्रका मुद्दाहरू सरकारको प्राथमिकतामा पर्न थाले । दोस्रो, सरकार र निजी क्षेत्रबीच अविश्वासको दूरी घट्न थाल्यो । यो परिवर्तन झट्ट हेर्दा सानो देखिए पनि दीर्घकालीन रूपमा अत्यन्त महत्वपूर्ण छ । किनकि, विकास साझेदारीबिना आर्थिक रूपान्तरण सम्भव हुँदैन ।

नीतिगत हस्तक्षेप
ढकालको कार्यकालमा महासंघको भूमिका परम्परागत ‘माग राख्ने संस्था’ बाट ‘नीतिगत प्रभाव पार्ने संस्था’ मा रूपान्तरण भएको छ । यसको प्रमुख उदाहरण हो- राष्ट्रिय आर्थिक बहसको पहल । बागलुङको ढोरपाटनमा २०८० असोज १५ र १६ गते सम्पन्न कार्यकारिणी बैठकबाट सुरु भएको यो अवधारणाले देशको आर्थिक समस्यालाई समग्र रूपमा छलफल गर्ने मञ्च तयार गर्यो ।
यस बहसले सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै प्लेटफर्ममा ल्यायो । यसले समस्यालाई आरोप-प्रत्यारोपको दृष्टिले होइन, समाधानको दृष्टिले हेर्ने वातावरण बनायो । यसै पहलको परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भयो ।
आयोगले ३० भन्दा बढी कानुनहरूमा सुधारका सिफारिस गर्दै लगानी वातावरण निर्माणका लागि ठोस आधार तयार गरेको छ । यो केवल कागजी उपलब्धि होइन, यो नीतिगत सुधारको रोडम्याप हो, जसले भविष्यको आर्थिक संरचना निर्धारण गर्न सक्छ ।
नियामकीय सन्तुलन
ढकालको नेतृत्वमा देखिएको अर्को महत्वपूर्ण पक्ष हो- नियामकीय सन्तुलन कायम गर्ने क्षमता । विशेषगरी निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने प्रस्ताव निकै विवादास्पद थियो । यसले निजी क्षेत्रभित्र त्रास सिर्जना गरेको थियो ।
ढकालले यस विषयमाथि सार्वजनिक फोरमबाट मात्र कुरा उठाएनन्, राज्यसँग तार्किक संवादको बाटो पनि रोजे । विभिन्न निकायसँग तर्कसंगत छलफल गर्दै उनले अत्यधिक नियमनले लगानी र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्न सक्ने पक्ष स्पष्ट पारे ।
अन्ततः उक्त प्रावधानलाई परिमार्जन र स्थगन गराउन सफल भए । यो उनको रणनीतिक र कूटनीतिक नेतृत्व क्षमताको अर्को बलियो उदाहरण हो । यसले निजी क्षेत्रलाई राहतमात्र दिएन, लगानी वातावरणलाई पनि सुरक्षित बनायो ।
आन्तरिक पुँजी
नेपालमा प्रायः सुनिने एउटा वाक्यांश हो ‘यहाँ केही हुँदैन ।’ ढकालले यही मानसिकतालाई चुनौती दिने प्रयास गरे । उनले हरेक फोरममा सकारात्मकता बाँड्ने प्रयास गरे । हामी गर्न सक्छौं भनिरहे ।
उनको कार्यकालमा १० अर्ब रुपैयाँ पुँजीसहित नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरिएको छ । यसको उद्देश्य स्पष्ट छ- देशभित्र र बाहिर रहेका साना-साना पुँजीलाई एकीकृत गर्दै ठूला परियोजनामा लगानी गर्ने ।
ढकालको यो पहल आर्थिकमात्र होइन, मनोवैज्ञानिक पनि हो । यसले नेपाली पुँजीले नै ठुला-ठुला काम गर्न सक्छ भन्ने विश्वास जगाउने प्रयास गरेको छ । यसका साथै उनले विदेशी लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय उपस्थिति जनाए । विभिन्न लगानी फोरम र द्विपक्षीय भेटघाटमार्फत नेपालको सम्भावना प्रस्तुत गर्दै उनले बाह्य लगानीकर्ताको ध्यान आकर्षित गर्न भूमिका खेले ।
बेइजिङमा नेपाल-चीन बिजनेस समिट आयोजना, एसडीजी फोरम आयोजना, महासंघ र कतार चेम्बरबीच संयुक्त बिजनेस फोरम गठन, ‘स्टार्ट अप नेसन २०३०’ सम्मेलनलगायतका गतिविधि उनको कार्यकालका ठुला उपलब्धि हुन् ।
संस्थागत रूपान्तरण
ढकालको कार्यकाल बाहिरी पहलमा सीमित रहेन, महासंघभित्रको संरचनात्मक सुधारमा पनि उनको सक्रियता चर्चायोग्य रह्यो । लामो समयदेखि विवादमा रहेको विधान संशोधन गर्न सजिलो थिएन । तर, उनले सहमतिका आधारमा सफलतापूर्वक संशोधन पारित गराए ।
सबैभन्दा ठूलो परिवर्तन थियो, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रणालीको अन्त्य । यसको सट्टा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गरियो । यसले महासंघको नेतृत्व चयन प्रक्रियालाई लोकतान्त्रिक, प्रतिस्पर्धी र पारदर्शी बनाएको छ ।
अब नेतृत्व स्वतः हस्तान्तरण होइन, प्रतिस्पर्धाबाट आउने निश्चित भएको छ । यसका अतिरिक्त, जिल्ला-नगरको प्रतिनिधित्व सुदृढ गर्ने, महिला सहभागिता बढाउने र समावेशी संरचना निर्माण गर्ने प्रयासहरू पनि उल्लेखनीय छन् ।
दीर्घकालीन सोच
ढकालको कार्यकालको अर्को विशेषता भनेको दीर्घकालीन सोच हो । उनले तत्कालीन समस्याहरू समाधान गर्ने मात्र होइन, भविष्यका लागि बलियो आधार तयार गर्ने काम पनि गरेका छन् । राष्ट्रिय आर्थिक बहसलाई संस्थागत बनाउने, निजी क्षेत्रको सुरक्षा र प्रोटोकलसम्बन्धी नीतिगत पहल गर्ने, सीप विकासमा निजी क्षेत्रको भूमिका विस्तार गर्नेलगायत सबै दीर्घकालीन महत्वका विषय हुन् ।
विशेषगरी सीप विकासमा निजी क्षेत्रको संलग्नता बढाउनु अत्यन्त महत्वपूर्ण कदम हो । यसले उद्योगको आवश्यकता र श्रम बजारबीचको अन्तर कम गर्न सक्छ, जसले उत्पादनशीलता र रोजगारी दुवैमा सकारात्मक प्रभाव पार्छ ।
ढकालले संवाद, सन्तुलन र परिणामको सिद्धान्तमा काम गरे । उनले टकरावभन्दा सहमति, आलोचनाभन्दा समाधान र दूरी बढाउनेभन्दा सहकार्यलाई प्राथमिकता दिए । यही कारणले उनी विभिन्न सरोकारवालाबीच सन्तुलन कायम राख्न सफल भए । उनको शैली आक्रामकभन्दा कूटनीतिक र प्रतिक्रियात्मकभन्दा रणनीतिक देखिन्छ । यसले दीर्घकालीन विश्वास निर्माण गर्न सहयोग पुर्याएको छ ।
परिवर्तनको आधार
समग्रमा ढकालले यो तीन वर्षमा निजी क्षेत्रको भूमिकालाई नयाँ ढंगले स्थापित गर्ने प्रयास गरेका छन् । उनले निजी क्षेत्रलाई ‘दबाब समूह’ बाट ‘विकास साझेदार’ मा रूपान्तरण गर्ने आधार तयार गरेका छन् । उनका पहलहरूले देखाएको दिशा स्पष्ट छ- सहकार्यमा आधारित विकास, नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र संस्थागत सुदृढीकरण ।
यद्यपि, चुनौतीहरू अझै बाँकी छन् । नीतिगत स्थिरता, सुधारको कार्यान्वयन, वित्तीय पहुँच, उत्पादन वृद्धि र रोजगारी सिर्जना अझै पनि महत्वपूर्ण एजेन्डा हुन् । तर, एउटा कुरा स्पष्ट छ- उनको कार्यकालले परिवर्तनको सुरुवात गरेको छ ।
कुनै पनि नेतृत्वको मूल्यांकन उसले के गर्यो भन्नेमा मात्र होइन, उसले कस्तो आधार तयार गर्यो भन्नेमा पनि हुन्छ । चन्द्रप्रसाद ढकालको तीन वर्षे कार्यकालले नेपालको निजी क्षेत्रलाई नयाँ सोच, नयाँ दिशा र नयाँ आत्मविश्वास दिएको छ । उनले सुरु गरेको सहकार्य, सुधार र रूपान्तरणको यात्रा निरन्तरता पाउन सकेमा यसले नेपालको आर्थिक भविष्यलाई अझ मजबुत बनाउने निश्चित छ ।
उनको कार्यकाललाई यसरी सम्झन सकिन्छ- एक यस्तो समय, जहाँ चुनौतीबीच पनि सम्भावनाको खोजी गरियो, अविश्वासबीच पनि सहकार्य निर्माण गरियो र निराशाबीच पनि आशाको बीउ रोपियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal