काठमाडौं। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्नेदेखि राष्ट्रिय झोलुंगे पुल नीति जारी गर्नेसम्मका ७ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन्।
बैठकले आगामी मंसिर ६ र ७ गते प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्नुका साथै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसमेत गठन गरेको छ।
त्यस्तै, चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट र्यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी, देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आवश्यक आदेश जारी गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६-२०३०) पनि स्वीकृत गरेको छ।
त्यस्तै, ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड (नम्स) २०८३ र राष्ट्रिय झोलुंगे पुल नीति २०८३ स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री तिमिल्सिनाले जानकारी दिए।
मन्त्रिपरिषद्का सात निर्णय
१. प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने तथा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।
२. भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितको उद्धार तथा जीवनरक्षाका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने।
३. अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
४. देशभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने।
५. राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६-२०३० स्वीकृत गर्ने।
६. ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने।
७. राष्ट्रिय झोलुंगे पुल नीति २०८३ स्वीकृत गर्ने।