• Menu

गाउँपालिकामै मालपोत, नापी र कर सेवा सुरु भएपछि नरैनापुरवासीलाई नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार ११:१२

गाउँपालिकामै मालपोत, नापी र कर सेवा सुरु भएपछि नरैनापुरवासीलाई नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँके‍ । बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले मालपोत, नापी तथा करसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध गराउन थालेपछि सर्वसाधारणलाई सदरमुकाम नेपालगन्ज धाउनुपर्ने बाध्यता हटेको छ।

यसअघि सामान्य प्रशासनिक कामदेखि जग्गा पास र कर चुक्ता प्रमाणपत्र लिनसमेत नेपालगन्ज पुग्नुपर्ने स्थानीयवासीले अहिले गाउँपालिकाबाटै सेवा पाउन थालेका छन्।

गाउँपालिकाले मालपोत, नापी तथा करदाता सेवा सञ्चालनमा ल्याएपछि नागरिकलाई सहज भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। उनका अनुसार स्थानीयस्तरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले प्रशासनिक सेवालाई विस्तार गरिएको हो।

गाउँपालिकामा करदाता सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको छ। केन्द्रबाट स्थानीयवासीले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्रलगायत सेवा लिन थालेका छन्। यसअघि यस्ता सेवा लिन नेपालगन्ज पुग्नुपर्ने बाध्यता थियो।

अध्यक्ष शाहले सार्वजनिक सेवा विस्तारसँगै नागरिकलाई घरदैलोमै छिटो र सहज सेवा उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको बताए। यसबाट सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सरकारी कामका लागि हुने अनावश्यक झन्झटसमेत कम भएको उनको भनाइ छ।

भूमि प्रशासन सेवालाई पारदर्शी र आधुनिक बनाउन गाउँपालिकाले नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम (नेलिस), ल्यान्ड रेकर्ड म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एलआरएमआईएस) र पब्लिक एक्सेस सिस्टम (पीएएम) जस्ता डिजिटल प्रणाली प्रयोगमा ल्याएको छ।

प्रविधिको प्रयोगलाई भूमि प्रशासनमा मात्र सीमित नराखी गाउँपालिकाको समग्र प्रशासन, सूचना प्रविधि तथा शिक्षा क्षेत्रमा समेत विस्तार गरिएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र अनुगमनका लागि अनलाइन हाजिरी, विद्युतीय शैक्षिक अभिलेख तथा सीसीटीभी निगरानीजस्ता अभ्यास सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाभित्रै क्रमशः महत्त्वपूर्ण सरकारी सेवा सञ्चालनमा आउन थालेका छन्। मालपोत तथा नापीसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध भएपछि जग्गा प्रशासनसम्बन्धी कामका लागि नेपालगन्ज पुग्नुपर्ने पुरानो बाध्यता हटेको छ।

नरैनापुर-६ का स्थानीय अगुवा सोहनलाल यादवले गाउँपालिकामै मालपोत, नापी र करसम्बन्धी सेवा पाउँदा स्थानीयवासीको समय र खर्च बचत भएको बताए। यसअघि करिब ४४ किलोमिटर टाढा रहेको सदरमुकाम नेपालगन्ज पुगेर घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

गाउँपालिकामै सार्वजनिक सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई प्रशासनिक कामकाज गर्न सहज भएको छ। नयाँ सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति, प्राविधिक पूर्वाधार र कार्यालय व्यवस्थापन मिलाउनुका साथै सम्बन्धित माथिल्ला निकायसँग समन्वय गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय तहमै सरकारी सेवा विस्तार भएपछि नरैनापुरका नागरिकलाई समय र खर्च बचत हुनुका साथै सार्वजनिक सेवा प्रवाहलाई थप सहज, छिटो र प्रविधिमैत्री बनाउने बाटो खुलेको छ। रासस