• Menu

काठमाडौँ जोड्ने राजमार्ग बन्द : रोकिए सार्वजनिक बस

नेपाल प्रफिट

२०८३ असोज ९, शुक्रबार १०:५९

काठमाडौँ जोड्ने राजमार्ग बन्द : रोकिए सार्वजनिक बस

काठमाडौँ । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन आवतजावत अवरुद्ध भएको छ। बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन आवागमनमा अवरोध भएको हो । काठमाडौंबाट बाहिरी जिल्लामा जाने सार्वजनिक सवारीसाधन पनि काठमाडौँमै रोकिएका छन् ।

देशका विभिन्न भागबाट संघीय राजधानी काठमाडौँ जोड्ने राजमार्ग बन्द भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौँ जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाडौँमै रोकिएको जानकारी दिए ।

उनका अनुसार हाल पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । काठमाडौँबाट हेटौँडा जाने फर्पिङको बाटो भने सञ्चालन भएकाले साना सवारीसाधन आवतजावत भइरहेको प्रवक्ता सुवेदीले बताए ।

नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार साँझदेखि गोङ्गबुस्थित नयाँबसपार्कमा सार्वजनिक यातायात रोकिएको जानकारी दिए ।

“देशका विभिन्न भागबाट काठमाडौँ जोड्ने राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा अधिकांश सवारीसाधन नयाँबसपार्कमा रोकिएका छन्”, उनले भने ।

यस्तै, बिहीबार बिहानैदेखि मुलुकको संघीय राजधानी काठमाडौँ उपत्यकामा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौँ उपत्यका भित्रका नदी क्रमशः बढ्न थालेका छन् । नदी बढेसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदीका करिडोरमा सवारी नरोक्न तथा पार्किङ नगर्न भन्दै माइकिङ गरेको छ ।

यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि भारी वर्षा हुने र राजमार्गमा पहिरो जानसक्ने भन्दै आवश्यक ध्यान दिन सवारी चालकलाई आग्रह गरेको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले वर्षाका कारण राजमार्ग अवरुद्ध हुनसक्ने भन्दै सुरक्षा निकायसँग समन्वय गरेर आवतजावत गर्न सम्पूर्ण व्यवसायी तथा चालकलाई आग्रह गरेका छन् ।

असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने भन्दै सचेत रहन आम जनतालाई विभिन्न निकायले अपिल गरिरहेका छन् ।