• Menu

रसुवा बाढीपछि मुस्ताङ जाने पर्यटक घटे

नेपाल प्रफिट

२०८३ असोज ४, आइतबार ०७:१८

रसुवा बाढीपछि मुस्ताङ जाने पर्यटक घटे

मुस्ताङ। रसुवाको भोटेकोशीमा भदौ १० गते गएको बाढीपछि मुस्ताङको पर्यटन क्षेत्रमा पनि असर परेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कअनुसार साउनको तुलनामा भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशतले घटेको हो।

साउनमा कुल ६१ हजार २६३ पर्यटक मुस्ताङ पुगेका थिए भने भदौमा यो संख्या घटेर ३१ हजार ९८९ मा सीमित भएको छ। यसअनुसार एक महिनामै २९ हजार २७४ पर्यटक घटेका छन्।

साउनमा आन्तरिक पर्यटक ३० हजार ६५५, सार्क मुलुकका ३१ हजार ५७५ र अन्य मुलुकका १९३ जना मुस्ताङ पुगेका थिए। भदौमा आन्तरिक पर्यटकको संख्या १६ हजार ५०३ र सार्क पर्यटक १५ हजार १३८ मा झरेको छ। तर, अन्य मुलुकबाट आउने पर्यटक भने १९३ बाट बढेर ३४८ पुगेका छन्।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार रसुवा बाढीपछि उत्पन्न शोक र त्यसको प्रभावका कारण मुस्ताङमा पर्यटक आगमन घटेको हुनसक्छ। कालीगण्डकी करिडोरमा बाढीपहिरो र नदी कटानका कारण पटक–पटक सडक अवरुद्ध हुँदा पनि पर्यटन प्रभावित भएको छ।

चालु आर्थिक वर्षको साउन र भदौमा गरी मुस्ताङमा कुल ९३ हजार २५२ पर्यटक पुगेका छन्। यद्यपि, अघिल्लो वर्षको सोही अवधिको तुलनामा समग्र पर्यटक आगमन भने बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ।