चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो । परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो ।
नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ ।
उनले भने, ‘सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ ।’ उनका अनुसार निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११-१२ उपकरण परिचालन गरिएको थियो । अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०-५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ । आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित ५-६ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन् ।
हाल नयाँ ट्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ । सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए । सब-बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उनको भनाइ छ । करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको उनले बताए ।
उनले भने, ‘यो खण्ड अलिकति जोखिम छ । थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ ।’ नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताए । उनले परीक्षणका लागि मात्र आइतबार केही सवारीसाधन पास गराइएको र अहिले नयाँ ट्याक पूर्णरूपमा बन्द रहेको जानकारी दिए ।
उनले भने, ‘सर्वसाधारण नयाँ ट्याक खुला गरिएको भ्रममा नपर्नुहोला । परीक्षणका लागि मात्र केही हिँजो सवारीसाधन पास गराइएको हो,’ थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले बताए ।