झापा । १० किराना पसललाई दुई लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले म्याद गुज्रिएको पशुदाना बिक्री गरेको कसुरमा उक्त जरिवाना गरिएको हो ।
मेचीनगर नगरपालिका-९ स्थित उक्त किराना पसलले उपभोक्तालाई समय नाघेका पशुदान बिक्री गरिएकाले जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
खाद्य प्रविधि कार्यालय भद्रपुरका अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्तीको टोलीले पसलमा अनुगमन गरेको थियो । समय नाघेका पशुदाना बिक्री वितरण गरेको ठहरसहितको अनुगमन प्रतिवेदन प्राप्त भएपछि दास किराना पसललाई खाद्य सुरक्षा ऐनको दफा ३९ (ज) बमोजिम दुई लाख जरिवाना गरिएको हो ।
अनुगमनका क्रममा वीरगन्ज उपमहानगरपालिका-२१ स्थित प्रो-बायोटेक इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘शक्ति ब्रान्ड’ का बी–२१, बी-२२, बी-२३ र बी-२४ ब्याच नम्बरका १४ बोरा अर्थात ४९० किलोग्राम पशुदाना म्याद नाघेको अवस्थामा पसलबाट भदौ २२ गते दाना बरामद गरिएको थियो ।
बरामद पशुदानाको बोरामा उत्पादन २०८३ साल जेठ ६ गते र उपभोग्य अवधि ६० दिन भनेर उल्लेख छ । उक्त पसलले भदौ १४ गते एक बोरा पशुदाना स्थानीय जयप्रसाद आचार्यलाई बिक्री गरेको पाइएको थियो । सो पशुदाना खाएर उनले पालेको गाई बिरामी भएको थियो । बिरामी गाईको उपचारमा चार हजार खर्च भएको आचार्यले बताए ।
प्रचलित बजारको तुलनामा दोब्बरभन्दा बढी मूल्यमा काँडेतार बिक्री गरिरहेको भन्ने गुनासो प्राप्त भएपछि बुद्धशान्ति गाउँपालिका-३ बुधबारेस्थित शिवम् ट्रेड एण्ड सप्लायर्समा आन्तरिक राजस्व कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापाले सोमबार संयुक्त अनुगमन गरेका छन् ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर अधिकृत डिल्लीराम चौलागाईंको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि यदुनन्दनसमेत रहेको टोलीले उक्त पसलको अनुगमन गरेको थियो । अनुगमनको क्रममा शिवम् ट्रेड एण्ड सप्लायर्सका प्रोपाइटर नारायण कडरियालाई तीन दिनभित्र आर्थिक वर्ष २०८२/८३ का बिल विजक, खाता र अन्य कागजातसहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन लिखित निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बजारमा प्रतिकेजी १२५ मा पाइने काँडेतारलाई उक्त पसलले प्रतिकेजी ३६० सम्ममा बिक्री गरेको बिल र रकम भुक्तानीको प्रमाणसहित पीडित उपभोक्ताले प्रशासनमा उजुरी दिनु भएपछि पसलमा अनुगमन गरिएको जनाइएको छ ।