• Menu

राष्ट्रपति पौडेलद्वारा नुवाकोटका भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन, उद्धार र राहतबारे लिए जानकारी

नेपाल प्रफिट

२०८३ भदौ २२, सोमबार १३:५८

राष्ट्रपति पौडेलद्वारा नुवाकोटका भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन, उद्धार र राहतबारे लिए जानकारी

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिएका छन् ।

उनले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनर्स्थापना भइरहेका कार्यको जानकारी लिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यले भोटेकोशी बाढीले जिल्लामा पुर्‍याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरे ।

त्यसक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे राष्ट्रपति पौडेललाई अवगत गराए ।

राष्ट्रपति पौडेलले विदुर नगरपालिका-२ स्थित कभर्ड हलस्थित होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहेका रसुवा र नुवाकोटका बाढी प्रभावितसँग अन्तरक्रिया गरे ।

अन्तरक्रियामा बाढी प्रभावित नागरिकले भोटेकोशी अकल्पनीय बाढीले पुर्‍याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए ।

उनीहरुले खोज, उद्धार र राहत एवं पुनर्स्थापनाका लागि सरकार र सहयोगदातासँग अझ तदारुकताको माग गरेका थिए ।