एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठूलो सफलता हासिल गरेको बताएका छन् ।
रोश हसानाहको अवसरमा आइतबार आयोजित सरकारी बैठकमा उनले संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायलले इरानको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतामाथि प्रहार गरेको बताए । इजरायल पहिलेभन्दा बलियो र उसका शत्रुहरू कमजोर बनेको उहाँको दाबी थियो ।
इरानले इजरायलमाथि आक्रमण गर्ने गल्ती गरे त्यसले कल्पना नगरेको ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै नेतान्याहुले इजरायललाई परीक्षण नगर्न आफ्ना विरोधीलाई आग्रह गरे । उनले इजरायल मध्यपूर्वको सबैभन्दा बलियो महाशक्ति बनेको दाबी गरे ।
इजरायली रक्षा बलले गाजा, लेबनान तथा जुडिया र सामरियामा आतंकवादीलाई निरन्तर लक्षित गरिरहेको उनले बताए ।
नेतान्याहुले अझै महत्त्वपूर्ण उद्देश्य पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै इरानी शासनको अन्त्यलाई प्रमुख लक्ष्यका रूपमा प्रस्तुत गरे । ‘इरानको यो शासनको अन्त्य नजिक छ । यो कमजोर छ, आफ्नो अस्तित्वका लागि लडिरहेको छ र निरन्तर कमजोर हुँदै गएको छ,’ उनले भने ।
उनले बाँकी उद्देश्य पूरा गर्न इजरायल दृढ र सक्षम रहेको बताउँदै त्यसबाट मध्यपूर्वको स्वरूप र इजरायली जनताको इतिहास स्थायी रूपमा परिवर्तन हुने दाबी गरे ।